सुपरफ्लप फिल्मको पनि सिक्वेल !

सुपरफ्लप फिल्मको पनि सिक्वेल !

काठमाडौं : सामान्यतः  एउटा फिल्मले राम्रो व्यापार गरेपछि सिक्वेल निर्माणको घोषणा गरिन्छ। एक समय नेपाली सिनेमाहरू राम्रोसँग चलेपछि त्यसको सिक्वेल बनाएर  निर्माताले अघिल्लो फिल्मको ब्याजसमेत असुलेकै हुन्।

तर, पछिल्लो समय भने सुपरफ्लप भएका फिल्महरूको पनि सिक्वेल घोषणा गर्ने लहड चलेको छ। पहिलो फिल्मले हलमा पानी सम्म भन्न नपाउने अवस्थामा समेत निर्माता तथा निर्देशकले सिक्वेल घोषणा गर्दा फिल्म समीक्षकहरू समेत आश्चर्यमा परेका छन्।

‘नाइँ नभन्नु ल’ देखि पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘दान्भी’सम्मको अवस्थालाई केलाउँदा सिक्वेल निर्माणको घोषणा र निर्माणले निरन्तरता पाइरहेको छ। ‘नाइँ नभन्नु ल’ फिल्मको त छैटौं सिक्वेलसमेत आइसक्यो। यद्यपि दर्शकले भने पहिलो र दोस्रोलाई जति बाँकीलाई मन पराएनन्।

सिक्वेलकै नाममा पहिलो फिल्मको ब्याज खान खोजेपछि निर्माता तथा निर्देशक विकासराज आचार्यका पछिल्ला सिक्वेलहरू फ्लप भएका छन्। आचार्यले ‘नाइँ नभन्नु ल’को छ वटा सिक्वेल बनाउँदा उनी यहि ब्राण्डबाट चिनिए भने केही बाल कलाकारलाई पनि यहि ब्राण्डमार्फत चिनाउन प्रयास गरे।

आचार्यकै सिको गर्दै अभिनेता तथा निर्माता समेत रहेका दीपकराज गिरीले पनि फिल्म ‘छक्का पञ्जा’लाई ब्राण्ड बनाए। यसको अहिले पाँचौं सिक्वेलको धमाधम छायांकन भइरहेको छ।

विकास र दीपक मात्रै होइन, झरना थापाले निर्माण तथा निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर’को पनि दुई वटा सिक्वेल बनाइन् र चलाइन् पनि।

सिक्वेलले राम्रै गरिरहेको समयमा झरनाले अर्को फिल्म ‘भागवत एक गीता’ निर्माण गरिन्। सुरुमा नाममै विवाद भयो, त्यसपछि हलमा फिल्म पनि चलेन र उनी नमज्जाले डुबिन्।

त्यसपछि उनी अर्को फिल्म बनाउने आँट गर्न सकेकी छैनन्। फिल्ममा डुबेको लगानी उठाउनका लागि उनले फेरि ‘ए मेरो हजुर’को सिक्वेल बनाउन सक्ने फिल्मी पण्डितहरूको आँकलन छ।

नयाँ फिल्ममेकरलाई हतार
पुरानालाई मात्र होइन, नयाँ आएका फिल्मकर्मीलाई पनि सिक्वेल घोषणाको हावाले छोएको छ। फिल्म चले पनि नचले पनि सिक्वेल घोषणा उनीहरूले गरेकै हुन्छन्।

यसको ज्वलन्त उदाहरणको रुपमा गतवर्ष र यस वर्ष प्रदर्शमा आएका केही फिल्मलाई हेरे पुग्छ। गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘हात्तीछाप’देखि पूजा शर्मालाई लेडी टाइगरको उपमा दिइएको फिल्म ‘दान्भी’सम्मले सिक्वेलको घोषणा गरेका छन्।

यद्यपि यी दुवै फिल्मले हलमा पानीसम्म भन्न पाएनन्। यी दुवै फिल्म निर्माण गरेर निर्माताहरू डुबेका छन्।

फिल्म ‘हात्तीछाप’को पोस्ट क्रेडिटमा ‘हात्तीछाप २’मा दीपकराज गिरीलाई राजाको रुपमा देखाइने भन्दै प्रचार गरियो। निर्माता तथा निर्देशकको यो प्रचारले पनि फिल्मलाई माथि उकास्न सकेन।

दीपक राखेपछि फिल्म चल्छ भन्ने अनुमान गरेका निर्माण टिमको पहिलो फिल्म सुपरफ्लप भयो। यसको सिक्वेल कहिले निर्माण हुन्छ भन्ने बारेमा निर्माण टिमले अहिले मौन छ। फिल्म ‘हात्तीछाप’मा सौगात मल्लदेखि दयाहाङ राईसम्मको अभिनय थियो।

फिल्म ‘हात्तीछाप’ जस्तो अर्को फिल्म हो ‘रंगेली’। निकै तामझामका साथ गत वर्ष प्रदर्शनमा आएको फिल्मको अन्तिमम आर्यन सिग्देललाई इन्ट्री गराइएको छ। यसले फिल्मको दोस्रो भाग बन्ने पक्का रहेको र त्यसमा आर्यन सिग्देको अभिनय रहने त पक्का भई नै हाल्यो।

तर पहिलो फिल्मको बक्स अफिस नै ध्वस्त भएपछि निर्माण टिमले दोस्रो फिल्म निर्माण गर्छ वा गर्दैन त्यो भने अहिले नै भन्न सकिने अवस्था रहेन।

अर्जुन सुवेदीको निर्देशनमा बनेको ‘रंगेली’मा आर्यनलाई डरलाग्दो भूमिकामा प्रस्तुत गर्न खोजेको देखाइएको छ। बक्स अफिस रिपोर्टपछि आर्यनको भूमिका पहिलो फिल्मको अन्तिममा इन्ट्री सिनमा मात्र सीमित हुने हो कि जस्तो देखिएको छ।

गत वर्ष नै प्रदर्शनमा आएको फिल्म ‘चित्रा’को सिक्वेल घोषणा भयो। निर्माता सन्तोष अधिकारीले बनाएको यो फिल्मले हलमा पानी समेत भन्न पाएन। यद्यपि पैसै हालेर भए पनि फिल्मको हिरो हुने उनको सपना भने पूरा भयो।

फिल्म हलमा नलाग्दै सिक्वेल बन्ने जानकारी गराएका अधिकारी बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि भने सिक्वेलबारे मौन छन्। बरु उनले अर्को फिल्म ‘तैँ चुप मै चुप’ निर्माणको घोषणा गरेका छन्।

यो फिल्मलाई पनि ‘चित्रा’कै निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्ने पक्का भइसकेको छ। पछिल्लो समय लामिछानेको निर्देशनमा गरेको फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनमा आएको थियो। उक्त फिल्म जुन हलमा लागेको दुई दिनमै उत्रिएको थियो।

त्यसैगरी पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएकी अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘दान्भी’ गत असार ७ गते प्रदर्शनमा आयो। निर्माण टिमले यो फिल्म राम्रैसँग चल्नेमा निकै आशावादी थियो।

पूजालाई ‘लेडी टाइगर’ भन्दै फिल्मको व्यापार प्रचार गरिए पनि उनका केही डाइहार्ट फ्यानबाहेक हलसम्म पुग्न कसैले पनि पाउलाई कष्ट दिएनन्। उनको यो फिल्म पनि फ्लपकै क्याटेगोरीमा पुग्यो। फिल्म बक्स अफिसमा असफल भयो।

पहिलो पार्ट नै जेनतेन निर्माण गरेको फिल्मका निर्माताले सिक्वेलमा तत्काल पैसा हालिहाल्ने अवस्था देखिँदैन।

असार २८, २०८१ शनिबार १३:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।