शैलुङमा अवरुद्ध विद्युत् सेवा एक हप्ता पछि सञ्चालन

शैलुङमा अवरुद्ध विद्युत् सेवा एक हप्ता पछि सञ्चालन

रामेछाप : शैलुङमा अवरुद्ध भएको एक सातापछि विद्युत् सेवा सञ्चालनमा आएको छ।

असार २१ गते परेको भीषण वर्षाले रुख र विद्युत्का पोल ढलेर अवरुद्ध भएको विद्युत् सेवा निरन्तरको प्रयासपछि शुक्रबारबाट सुचारु भएको हो।

दोरम्बा विद्युत् सवस्टेसनले समयमा काम नगर्दा एक हप्तासम्म स्थानीय अन्धकारमा थिए।

विद्युत् सेवा अवरुद्ध हुँदा १ सय २० घर बढी उपभोक्ता तथा शैलुङ पुग्ने पर्यटकले समेत समस्या भोगेका थिए।

विद्युत् सेवा सुचारु भए पनि शैलुङ जाने सडकको अवस्था अहिले पनि उस्तै छ। सोही वर्षाको कारण बिग्रिएको सडक मर्मत हुन सकेको छैन।

सडक मर्मत नहुँदा सदरमुकाम मन्थली तथा काठमाडौंबाट शैलुङको आवागमन बन्द भएको छ।

सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न लैजान र उत्पादित कृषि उपज समेत बजार लैजान समस्या भएको छ।

यसै वर्ष स्तरोन्नति गरिएको सडक बाढी पहिरोको कारण ठाउँ-ठाउँमा भत्किएको छ भने ठाउँ-ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ।

शैलुङ मात्रै होइन दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र टोकरपुर जाने सडक समेत वर्षाको कारण जोखिमपूर्ण बनेको छ। दोरम्बाको अग्लेश्वरीदेखि टोकरपुर पुग्ने सडक यातायात साधन चल्न नसक्ने अवस्थामा पुगेको छ।

सो सडक मर्मतको लागि स्थानीय दोरम्बा शैलुङ गाउँपालिकाले ६५ लाख  बढी खर्च गरिसकेको छ। सडकमा ग्राभेल बिछ्याइएको भए पनि गुणस्तरीय काम नहुँदा स्थानीयको समस्या जेनको तेन भएको छ।

असार २८, २०८१ शनिबार ११:५८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।