आर्थिक वर्ष सकिन तीन दिनअघि विभागले विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री बाँड्यो

आर्थिक वर्ष सकिन तीन दिनअघि विभागले विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री बाँड्यो

काठमाडौं : आर्थिक वर्षको अन्तिम समयमा स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालहरूलाई  मेसिन, औजार तथा उपकरण सामग्री बाँडफाँट गरेको छ।

विभागले आर्थिक वर्ष सकिन तीन दिनअघि असार २८ गते शुक्रबार टेकुको एक हलमा ‘संघीय तथा प्रादेशिक अस्पतालहरूलाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण’ शीर्षकको कार्यक्रम राखेर विभिन्न अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूलाई सामग्री हस्तान्तरणको फाइल दिएको हो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले खरिद तथा व्यवस्थापन गरेका सामग्रीको दिने कागजातको स्वास्थ्य सचिवहरू डा. रोशन पोखरेल, हरिप्रसाद मैनाली र विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रालगायतले अस्पताल प्रमुखहरुलाई हस्तान्तरण गरेका हुन्।

अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूलाई एकै ठाउँमा बोलाएर आर्थिक वर्षको अन्तिम दिन किन यसरी स्वास्थ्य सामग्री दिइयो भन्ने मन्त्रालयले स्पष्ट पारेको छैन।

यद्यपि कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. पोख्रेलले सञ्चारकर्मीतर्फ फर्कँदै गरेको कामको जस पाए राति अलि राम्ररी निन्द्रा लाग्ने भन्दै कटाक्ष गरे।

उनले भने, ‘गरेको कामको जस पनि पाए राति अलि राम्रोसँग निन्द्रा लाग्थ्यो की! खरिदमा हामी पारदर्शी हुने कोसिस गरेका छौँ।’

उकेराले खरिदमा हुने मिलेमतो र अनियमितताका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ।

विभागले बीर अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी क्यान्सर अस्पताल, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूति गृह, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति बाल अस्पताल, मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्स्प्लान्ट केन्द्र, सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, भरी अस्पताल, भरतपुर अस्पताल, क्यान्सर अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, मोरङको कोशी अस्पताल र निजामती अस्पताललाई सामग्री दिने निर्णय गरिएको कागजात हस्तान्तरण गरिएको हो।

त्यसैगरी विभागले प्रदेशका मेची अस्पताल, इलाम अस्पताल, जाजरकोट अस्पताल, महोत्तरी अस्पताल, कलैया अस्पताल, खोटाङ अस्पताल, रोल्पा अस्पताल, सर्लाही अस्पताल, बर्दीया अस्पताल, कपिलवस्तु अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, धादिङ अस्पताल, दैलेख अस्पताल, गौर अस्पताल, सिन्धुली अस्पताल, प्युठान अस्पताल, पोखरिया अस्पताल, डोटी अस्पताललाई सामग्री दिने निर्णय गरेको कागजात हस्तान्तरण गरेको हो।

असार २८, २०८१ शनिबार ०८:२६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।