रास्वपामा लागेदेखि सांसद शिव नेपालीले सोधिरहेछन् ‘रविदाइ, रास्वपाले दलित मुद्दालाई कसरी हेर्छ?

रास्वपामा लागेदेखि सांसद शिव नेपालीले सोधिरहेछन् ‘रविदाइ, रास्वपाले दलित मुद्दालाई कसरी हेर्छ?

२०/२२ वर्षको त्यो रंगीन उमेर। आफूलाई मन परेको व्यक्तिसँग प्रेममा पर्नु अपराध हो र? होइन। तर, 'अपराध' त्यतिबेला हो, जतिबेला प्रेम गरेको व्यक्ति कथित अर्कै जातको भएको होस्।

प्रेममा परिरहँदा जात हेरेर प्रेम गर्ने कुरा पनि भएन। तर अक्सर, नेपालमा यो छुट छैन। अनि कथित जात नमिल्नेसँग प्रेम गरेका शिव नेपाली र प्रतीक्षा परियारले किन पो छुट पाउँथे र!

शिवले कलेज पढ्दै गर्दा प्रेम विवाह गरे। ०५७ को मंसिर ४ गते उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गरे। त्यहीअनुरुप उनीहरू भागेर चितवन पुगे। त्यहीँ रहेको एक मन्दिरमा विवाह गरे। विवाहलाई प्रेमको अन्तिम उद्देश्य मानिने समाजमा हुर्किएका उनीहरू आफूहरूको बिहे भएकोमा खुसी थिए।

सँगै मनमा कताकता डर पनि, कतै हाम्रो (अन्तर्जातीय भनिने) बिहेलाई घरमा नस्विकार्ने त होइनन्!

नभन्दै, त्यसपछि शिवको घरमा ठूलो द्वन्द्व चल्यो- छोरा/बुहारीलाई भित्र्याउने कि नभित्र्याउने! किनभने शिवको पछाडिको नाम नेपाली हो भने उनकी श्रीमतीको पछाडिको नाम परियार। 

घरमा लामै समय छलफल चल्यो। शिवका बहिनीहरू कहिँनकहीँ जातव्यबस्था विरोधी थिए। अरू पारिवारिक सदस्य र गाउँलेहरू जातव्यबस्था धुमिल पेरिफेरिमा थिए। 

'दिदीबहिनीको दबाब थियो, मलाई भित्र्याउने भन्नेमा। त्यै भएर समाजले जे भने पनि स्विकारौं भन्नेमा पुग्नुभयो बुवाआमा। १९ दिनपछि भित्र्याउनुभयो,' शिवले सम्झिए।

तर, त्यति गरेर जातव्यबस्था विरोधी एउटा क्रान्ति जितेका शिवले अर्को पटक हारे। त्यो लडाइ अहिलेसम्म जित्न सकेका छैनन्।

मंसिरको २४ गते आफ्नी श्रीमतीसहित घर भित्रिएकै दिन शिवकी फुपूले घर छाडिन्। शिवको बुवाकी दिदी जो अविवाहित थिइन्, शिवले परियार थरकी श्रीमती घर भित्र्याएकोमा चित्त नबुझाएर उनी घरबाट निस्किइन्। दुर्भाग्यवश, उनी अहिलेसम्म पनि फर्किएकी छैनन्। 

शिव प्रतिनिधि सभाका सदस्य भइसके। तर घरभित्रको यही लडाइ अझै लडिरहेका छन्।

'मैले बिहे गरेको जतिवर्ष भयो, त्यति वर्ष भयो मेरो बुवाको निधार खाली भएको। उहाँले दिदी हुँदाहुँदै पनि भाइटीकामा टीका लगाउन पाउनुभएको छैन। मैले परियार'सँग विवाह गर्दाको फल अहिलेसम्म मैले मात्रै होइन, मेरो बुवाले पनि भोगिरहनु परेको छ, शिव भावुक देखिए।

 OOO

गएको उपनिर्वाचन बैशाखतिर रास्वपाका सभापति रवि लामिछानेले इलाममा भनेका थिए, 'राष्ट्रिय स्वतन्त्र पार्टी जसले मगर समुदायकी इन्दिरा राना मगरलाई उपसभामुख बनायो, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार हुनुहुन्छ, रास्वपाका उपनेता बिराजभक्त श्रेष्ठ हुनुहुन्छ। अब भन्नुहोस्, समावेशीताका बारेमा रास्वपा के भन्छ?'

उनको पार्टीले प्रमुख सचेतक/उपसभामुख लगायत बनायो पनि। तर, के त्यति गर्नुमात्रै दलित/जनजातिको मुद्दा सम्बोधन हुनु हो त? यसको जवाफ लामिछानेसँग मात्र होइन, उनको पार्टी रास्वपासँग पनि छैन।

किनकी रास्वपाको विधानमा यसबारे केही सम्बोधन छैन।

हामीले रास्वपाका प्रतिनिधि सभा सदस्य तथा केन्द्रिय सदस्य शिवलाई सोध्यौं, 'दलित मुद्दामा रास्वपाको धारणा केहो?' 

उनले सहज जवाफ दिए, 'मैले पनि यसबारेमा सभापति रवि लामिछानेलाई सोधिरहेको छु।'

त्यसो त जातव्यबस्थाको समस्या कसरी हल हुन्छ? ६० लाख दलित समुदायको मुक्ति कसरी हुन्छ? आदिवासी-जनजातिको समस्या समाधान कसरी गर्न सकिन्छ? रास्वपाको विधान मौन छ।

संसद्को चौथो ठूलो शक्ति, नयाँ भनिने अनुहार र पार्टी पनि नयाँ भन्ने दाबी गर्दैगर्दा शताब्दीऔंदेखि नेपाली समाजमा जकडिएर बसेको जातब्यवस्थबारे किन नबोलेको? यसको जवाफ सांसद शिव आफैंसँग त छैन नै, सिंगो पार्टीसँग पनि छैन।

गएको मंसिरमा बसेको जलेश्वर बैठकयता पार्टीले आफ्नो नीति तथा सिद्धान्तमा काम गरिरहेको छ। चौतर्फी रूपमा 'सिद्धान्त नभएको पार्टी' भन्ने आलोचना भएपछि रास्वपाको जलेश्वर बैठकले यतातिर ध्यान दियो। तर, दलितको मुद्दामा बोलेन। 

तैपनि पार्टीभित्र शिव सोधिरहन्छन्- मैले जलेश्वर बैठकदेखियता सभापति रवि लामिछाने र अन्य गैरदलित नेताहरूलाई पनि 'दलित मुद्दामा हाम्रो पार्टीको धारणा के हो?'  दलित समुदायको मुद्दालाई सम्बोधन गर्न नयाँ पार्टी भएकाले नयाँ तरिकाको भिजन रास्वपाले ल्याउनुपर्ने माग राखिरहेका छन् शिव। 

अझ त्यसमा पनि सभापति लामिछानेलाई त कयौंपटक सोधिसके- 'रविदाइ, रास्वपाले दलितको मुद्दालाई कसरी हेर्छ?'  जवाफमा हामी काम गर्दैछौं भन्नेमात्र आश्वासन आइरहेको छ। पार्टीभित्र समाज बुझेकै व्यक्तिहरू भएकाले दलित मुद्दामा पक्कै राम्रो सम्बोधन हुने उनको विश्वास छ। 

...यदि गरेन भने? 

उनको जबाफ छ, 'बन्दै गरेको पार्टीको दस्तावेजमा दलित मुद्दा समेटिन्छ भन्ने मेरो विश्वास हो। यदि त्यसो भएन रास्वपाप्रति गम्भीर प्रश्न खडा हुन्छ।'

OOO

०७९ पुस १८ पोखरा २४ का वडाध्यक्ष भरतबहादुर  अधिकारीले सार्वजनिक कार्यक्रममै दलित महिला वडा सदस्य मैया नेपालीलाई जातीय विभेदजन्य गालीगलौज गरे। वडाले लक्षित समूहका लागि छुट्याएको ५ लाख बजेट वडाध्यक्षले अन्यत्र शीर्षकमा मनमौजी खर्च गरेपछि वडा सदस्य नेपालीले विरोध जनाउने क्रममा वडाध्यक्ष अधिकारीले तथानाम गाली गरेका थिए।

'तँलाई यो विषयमा बोल्ने अधिकार छैन। तँ वडा सदस्य भएँ भनेर के फूर्ति गर्छेस्, तेरो हैसियत के हो भन्ने मलाई थाहा छ। तेरो ३ पुस्तादेखि मेरो घरको जुठोपुरो खाएर काम गरेर बाँचेका हौ। तँलाई महानगरले दिने १५ हजार तलब मैले मेरो घरमा काम गर्ने नोकरलाई दिन्छु। तेरो हैसियत म अध्यक्षसँग टक्कर गर्ने होइन। मरेको गाई, भैंसीका सिनो लुछेजस्तो वडाको बजेटलाई लुछ्न नखोज्। तिमीहरू कामी, दमाई, सार्कीको हैसियत भनेको मागेर, थापेर खाने हो', वडा अध्यक्ष अधिकारीले सदस्य नेपालीलाई भनेका थिए।

 जातीय विभेद बिस्तारै हट्दैछ, पछिल्लो पुस्तामा छैन विभेद, अझ सार्वजनिक पद धारणा गरेका अनि पढेलेखेका पुस्तामा त विभेद छँदै छैन, दुरदराजमा मात्र बाँकी छ' जस्ता भाष्यहरूलाई चक्मा दिने घटना थियो त्यो।

चौतर्फी आलोचनाको विषय बन्यो त्यक्ष घटना। पोखरा महानगरको नगरसभामा दलित जनप्रतिनिधिले कालोपट्टी बाँधेर विरोध गरे। 

कास्कीबाटै राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका शिवले संसद्मा आवाज उठाए। २१ औं शताब्दीमा हुने जनप्रतिनिधि माथिकै यस्तोखाले विभेद्माथि दोषीलाई कारबाही गर्नुपर्ने माग राखे। 

त्यसपछि वडा सदस्य नेपालीले पुस २४ गते जातीय छुवाछूत तथा दुर्व्यवहारको कसुरमा कास्की प्रहरीमा उजुरी दिइन्। अनि एक वर्षपछि ती अध्यक्ष अधिकारीलाई कास्की जिल्ला अदालतले साढे ४ महिना कैद र ७५ हजार जरिवाना र १० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो।

जातीय विभेद विरुद्धको एउटा लडाइ स्थापित भयो। त्यसको एउटा हिस्सा बने सांसद शिव। 

OOO

-प्रधानमन्त्री प्रचण्ड क्याबिनेटमा दलित समुदायबाट मन्त्री नबनाइएकोबारे किन सदनमा प्रश्न नगर्नुभएको? सरकारमा आफ्नो अनुहार देख्न नपाउदा पनि कसरी सहनुहुन्छ?

उनलाई लाग्यो, 'दलितहरूले अब हात फैलाउने होइन। मलाई चैं झुक्न मन लाग्दैन। त्यसैले।'

-ओहो, यो कस्तो नमिल्दो तर्क। आफ्नो अधिकार माग्नु भनेको झुक्नु होर?

 उनले बडो निराश देखिएर जबाफ फर्काए, 'संसद्मा कुरा उठाउन गाह्रो छैन। तर, सांसद्ले उठाएको कुरा सुनुवाइ नै नभएपछि मन मरेर आउने रहेछ क्या! शून्य समय, विशेष समय कहिँकतै बोलेको सुनुवाइ हुँदैन। अनि मेरा प्रश्न आफैं मरेका छन्। जनताका ससाना मुद्दा त सुनुवाइ हुँदैन, झन दलितलाई मन्त्री नबनाएको कुरा किन सुन्थे र!

-त्यसोभए राष्ट्रिय स्वतन्त्र पार्टी दुईपटक सरकारमा हुँदा किन दलित समुदायलाई मन्त्री नबनाएको भनेर सभापति लामिछानेलाई त सोध्न सकिन्थ्यो नि? 

उनले सम्झिए, 'पार्टी स्थापना भएकै दुईवर्ष भयो। अहिल्यै किन तातो खाऊँ, जलि मरूँ गर्ने भन्ने लागेको छ। २१ जना सांसद्बाट बढाएर अझै बनाउनु छ, त्यसपछि त् बनाउलान् नि।'

उनी आफ्नो कमजोरी स्विकार्न पनि तयार देखिए। किनभने उनले सहजताकासाथ भने, 'मैले आजसम्म संसदीय दलमा किन दलित समुदायबाट मन्त्री नबनाएको भनेर प्रश्न गरेको छैन।' 

OOO

शिव तनहुँको गोडडाँडामा जन्मिए। तर, पोखरा १३ मा उनको बाल्यकाल गुज्रियो। स्थानीय भद्रकाली माविमा ४ कक्षासम्म पढे। त्यसपछि भारतको नयाँदिल्ली पढ्न गएपनि त्यहाँ रहेका मामाको निधन भएपछि पुन: पोखरा फर्केर शीतलदेबी प्राविमा ५ सम्म पढे। अनि अमरसिंह माविबाट ०५४ सालमा एसएलसी सके।

कालिका बहुमुखी क्याम्पसबाट आइकम सकेपछि ०५७ मा पृथ्वीनारायण क्याम्पसमा बिकम पढे। दलित बस्तीमै हुर्किए उनी। त्यसकारण पनि उनी आफैंले भने विभेद त्यति धेरै भोगेनन्। 

निम्न वर्गीय परिवार थियो। त्यसैले पनि चाँडै घर ब्यबहारमा रुमलिनुपर्ने भयो।

०५७ अघि नै कम्प्युटर सिकेका शिवले त्यसपछि त्यही व्यवसाय थाले। तर, समयक्रम अनुसार त्यो व्यवसाय चलेन। अनि केही विकल्प नलागेपछि उनी वैदेशिक रोजगारको लागि ००५ मा यूएईले उडे।

नेपालीहरूका लागि विदेश कहाँ सजिलो हुन्थ्यो र! शिव कम्प्युटर अपरेटरको काममा भनेर गएका थिए। त्यहाँ पुगेपछि अर्कै काममा लगाइयो। अनि उनी १० महिना नपुग्दै फर्किए। संयोगले ०६२/६३ को १९ दिने जनआन्दोलन सकिएको दिन उनी नेपाल टेके। 

त्यसपछि फेरि उनी कम्प्युटर पढाउनतिरै लागे। उनका बुवा भैँसीको व्यापार गर्थे। त्यसैले पनि आफ्नै एउटा गाडीको आवश्यकता खड्किरहेको थियो। अब उनले गाडी किने। त्यसैलाई व्यवसाय बनाए। 

त्यसपछि सांसद नहुँदासम्म वैदेशिक रोजगारको परामर्शकर्ता र त्यही यातायात व्यवसाय गरिरहेका थिए शिव। पोखरामा छँदा जीवन निर्वाहका लागि व्यवसाय त गर्नैपर्यो, त्योबाहेक विभिन्न सामाजिक कार्यमा सक्रिय थिए शिव। स्थानीय संगम फुटबल क्लबमा १५ वर्ष सचिवको रूपमा काम गरे। त्यस अवधिमा त्यो क्लबले आधा दर्जन राष्ट्रिय खेलाडी दियो। उनी त्यसैमा रमाइरहे।

OOO

मान्छे त सबै एउटै हो नि, कसैको थरको कारण कोही ठूलो वा कोही सानो कसरी हुनसक्छ? शिवलाई यस्तै लागिरहन्थ्यो। तर, त्यसको समाधान के त? उनी लामो समय निरुत्तरित बने।

एउटा विन्दुमा पुगेपछि जातव्यबस्था अन्त्य गर्न र जातीय विभेद हटाउन राजनीति नै गर्नुपर्छ भन्ने चेत जाग्यो उनीमा। शिवका वरिपरिका सबै साथीहरू कुनै न कुनै राजनीतिक दलमा थिए। उनी स्वतन्त्र थिए। 

जब लामिछानेले ०७९ असार ७ गते पार्टी घोषणा गरे, शिव पनि आकर्षित भए। नभन्दै साउन ७ गते गण्डकी प्रदेशको पोखरामा भएको रास्वपाको पहिलो प्रादेशिक कार्यक्रममा उनी सहभागी भए। र, पार्टी प्रवेश गरे। 

'रवि लामिछाने टीभीमा छँदादेखी नै फलो गरिराको हो, देश बनाउने हुटहुटी लिएर पार्टी खोलेपछि साथ दिनुपर्छ भन्ने लाग्यो, उनले सम्झिए।

उनले सम्झिँदै गर्दा आफ्ना व्यावसायिक साथी चोमराज थापालाई पनि सम्झिए। राजनीतिक गुरूको उपमा दिँदै रास्वपा प्रवेशदेखि समानुपातिक सांसद निर्वाचित हुँदासम्म थापाको भूमिका रहेको शिवले सुनाए।

रास्वपाको प्रादेशिक भेला सकिएपछि त्यही दिन पोखरा नगर कमिटी गठन भयो। त्यसताका निलम्बित महामन्त्री मुकुल ढकाल र निलम्बित सांसद ढाकाकुमार श्रेष्ठ सक्रिय थिए।

 रास्वपामा दलित समुदायको उपस्थिति हुनुपर्छ भन्ने लागेको थियो शिवलाई। त्यसैले ११ जनाको त्यस नगर कमिटीमा उनी सदस्य चुनिए। 

तर, उनले आफूलाई पोखरा नगर कमिटीको सदस्य लामो समयसम्म भनिरहन पाएनन्। अर्थात् केही समयपछि त्यो ११ जनाको कमिटीलाई संख्या ७ सदस्यीय बनाइयो। जहाँ शिव अटाएनन्। शिवको मन कटक्क भयो।

'खै, किन हटाइयो मलाई थाहै पाइँन। पछि पो सम्पर्क व्यक्ति भनेर बनाइएछ मलाई त, मैले बुझ्न चाहिँन पनि, उनले सम्झिए।

त्यसपछि कास्की क्षेत्र नम्बर १ अन्तर्गत रहेका ३१ वडाहरू संगठन विस्तार गर्न मरिमेटेर लागिपरे शिव। १५ नम्बर वडा कमिटी गठन गरेपछि बिस्तारै अरूतिर रास्वपाको झन्डा फर्फराउन लागि परेको उनी सम्झिन्छन्।

त्यसबेला आफू कोभिडबाट संक्रमित भएर थला परेको अवस्थामा निरन्तर पार्टीको संगठन बिस्तारमा लागेको उनको अनुभव छ। यसैगरी संगठन बिस्तारको क्रम चलिरह्यो।

OOO

संसदीय चुनाव पनि नजिकियो। शिवका राजनीतिक साथीहरूले समानुपातिकतर्फ उम्मेदवार बन्न सुझाए। त्यसअघि सक्रिय राजनीति गरेको अनुभव नभएको कारण उनले त्यतातर्फ धेरै कुरा बुझेनन् पनि। बुझ्ने कोसिस भने गरिरहे। त्यसपछि घरमा बुवासँग सल्लाह गरेर काठमाडौं आएर समानुपातिकको फर्म भरे। 

उनी अहिले पार्टीको केन्द्रीय सदस्य हुन्। तर, त्यतिकै भूमिकामा उनी सन्तुष्ट छैनन्। किनभने उनलाई अझै धेरै गर्नसक्छु भन्ने आत्मविश्वास र जोस-जाँगर छ। तथापि पार्टीले केन्द्रीय सदस्यमै झारो टारिदिएको छ। 

'सांसदको रूपमा सन्तुष्ट छु, पार्टीको रूपमा छैन, जिम्मेवारी पाउने हो भने काम गर्नसक्छु भन्ने चैं छ, उनले भने।

संसद्को यात्रा सुरू गरेको डेढ वर्ष भएको छ। यसबीचमा उनी सिक्दै आफूलाई निखार्दै लगेको बताउँछन्। आफू जुन समुदायको धरातलबाट आए, त्यसलाई बिर्सेका छैनन्।

सांसदहरूले अध्ययन गर्न अनिवार्य छ। तर, दलित सांसदले भने आफ्नो मुद्दामा सदनमा कुरा उठाउन आफूले भोगेको जीवनलाई फर्केर हेरे पुग्छ। समाजको अध्ययन गरे हुन्छ। यो तर्कमा शिवको पनि सहमति छ। डेढ वर्षको संसद यात्रामा उनले यही गरिरहेका छन् पनि। 

एउटा उदाहरण: पारिवारिक स्रोतको दाबीअनुसार ८ वर्षअघि काभ्रेका अजित मिजार अन्तर्जातीय प्रेम गरेकै कारण मारिए। अजितकी प्रेमिका कथित उच्च जातको भएकाले प्रेमिकापक्षले अजितको हत्या गरेको आरोपसहित अदालतमा उक्त मुद्दा बिचाराधिन छ। हत्यापछि अजितको परिवारले आफूहरूले न्याय नपाएसम्म उनको शव नबुझ्ने अडान लिएको छ। त्यसैअनुरूप अजितको शव ८ वर्षदेखि शिक्षण अस्पतालमा न्याय कुरेर बसिरहेको छ।

अजितको न्यायको लागि कलाकार राजेश हमालदेखि राजनीतिज्ञ विश्वप्रकाश शर्मासम्मले आवाज बुलन्द गरिसके। यसैक्रममा सांसद शिवले पनि सदनमा आवाज उठाए। त्यसबेला गृहमन्त्री उनकै पार्टी सभापति लामिछाने थिए।

त्यसैकोमेसोमा व्यक्तिगत रूपमा गृहमन्त्री लामिछानेलाई भेटेर  अजित मिजारको प्रकरणमा पहलकदमी लिइदिन आग्रह गरेको शिव सम्झिन्छन्। 

'दाइ तपाईं अहिले जुन कुर्सीमा हुनुहुन्छ। त्योबेला अजित मिजारले न्याय पाए सिंगो दलित समुदायप्रति न्याय हुनेछ भनेको छु, उनले सम्झिए। 

आव २०८१/०८२ को बजेट छलफलमा कास्कीमा दलित संग्रहालय बनाउन संसद्बाट १ करोड बजेट माग गरे। अहिले त्यो पर्यटन तथा संस्कृति मन्त्रालयले ९० लाख बजेट विनियोजन गरेको छ। 

राजनीति गरुन्जेल रास्वपामै रहने अनि दलित समुदायको इज्जत नजानेगरी काम गर्ने उनको दाबी छ।

'जहिलेसम्म संसद्मा छु, दलित मुद्दामा ढटेर बोलिरहन्छु, उनले प्रतिबद्धता जनाए।

OOO

जातव्यबस्था भत्काउन शिक्षा र चेतनामै जोड दिनुपर्ने शिवको तर्क छ। अब दलित समुदायले अधिकार मागेर भन्दा वैचारिक संघर्ष गरेर लिनुपर्ने र त्यसका लागि शिक्षा जरुरी रहेको उनको बुझाइ छ।

'आज तपाईं जसरी प्रश्न गरिरहनुभएको छ, त्यो शिक्षाले हो। आज म जसरी तपाईंसँग प्रस्तुत भइरहेको छु, त्यो शिक्षाले गर्दा हो। त्यसैले शिक्षा आवश्यक हो, उनले तर्क गरे।

उनी राजनीतिमा अझैँ अगाडि बढ्न चाहन्छन्। तर सत्ता गठबन्धन बदलिएसँगै संविधान संशोधन गरेर समानुपातिक सांसद हटाएर राष्ट्रिय सभामा लैजाने बहस चर्किएको छ। यो पछि पारिएका अन्य वर्गलाई राज्य सत्तामा सहज पहुँच नदिने खेल हो कि भन्ने उनलाई शंका लागेको छ।

‘अहिलेको अवस्थामा म आफैँ करोडौँ रकम खर्च गरेर प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्न सक्ने अवस्था छैन। यस्तो बेलामा प्रतिनिधी सभामा समानुपातिक हटाउँदा राजनीतिमा आउन चाहने नयाँ अनुहार कसरी आउन सक्लान?’ उनी चिन्तिन देखिए।

जातका कुरा

असार २७, २०८१ शुक्रबार २१:३४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।