राष्ट्रपति संविधानको धारा ७६ (३) मा गएनन्, संसद्मा बहुमत पूर्याउनेलाई सरकार गठन गर्न ७२ घण्टे सूचना

राष्ट्रपति संविधानको धारा ७६ (३) मा गएनन्, संसद्मा बहुमत पूर्याउनेलाई सरकार गठन गर्न ७२ घण्टे सूचना

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घण्टा समय दिएका छन्।

शुक्रवार प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएसँगै उनले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएका हुन्। संविधानको धारा ७६ (२) अनुसार कि (३) अनुसार सरकार गठन हुने भन्ने बहसकै बिचमा राष्ट्रपति पौडेलले धारा ७६ (२) अनुसार सरकार गठन गर्न आव्हान गरेका हुन्।

राष्ट्रपति कार्यालयको आव्हान अनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनको संवैधानिक बाटो खुलेको छ। सो अनुसार कांग्रेस र एमाले मिलेर सरकार गठनको दाबी पेस गर्न सहमति भइसकेको छ।

राष्ट्रपति कार्यालयको विज्ञप्तीमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७९ पुस १० मा नियुक्त पुष्पकमल दाहाल 'प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम  २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको भन्दै संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपति समक्ष २०८१ असार ३० आइतबार अपरान्ह ५:०० बजे भित्र दावी पेश गर्न भनिएको छ।

असार २७, २०८१ शुक्रबार २०:४१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।