सरकार गठनको उथलपुथल, राष्ट्रपति परामर्शमा, देउवाले ओलीलाई दिए समर्थन पत्र

सरकार गठनको उथलपुथल, राष्ट्रपति परामर्शमा, देउवाले ओलीलाई दिए समर्थन पत्र

काठमाडौँ : पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएसँगै नयाँ सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेल आन्तरिक परामर्शमा जुटेका छन्।

समर्थन जुटाउन सक्ने दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कि प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलको नेतालाई निमन्त्रणा दिने भन्नेबारे राजनीतिक वृत्तमा बहस जारी छ।

तर प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको दोस्रो ठुलो दल एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन पत्र दिइसकेका छन्।

दुवै दलबीच सरकार बनाउने सहमति हुँदा नै प्रतिनिधि सभामा बहुमत जुटाउन सक्ने दलको नेतालाई सरकार गठनको आव्हान गर्ने सर्तमा सहमति भएको थियो।

उता राष्ट्रपति छलफलमा रहे पनि यता कांग्रेस र एमालेले पहिलो चरणमा ओलीको नेतृत्वमा सरकार गठनको सबै तयारी पुरा गरिसकेका छन्।

कांग्रेस र एमाले मिल्दा बहुमतका लागि अन्य दलको समर्थन नचाहिने भएकाले राष्ट्रपतिकोमा दाबी पेस गर्दा दुई दलका सांसदहरूको समर्थन पत्र बुझाउने तयारी गरेका छन्।

पटक-पटकको विश्वासको मतबाट जोगिन दुई दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएपछि मात्रै अन्य दललाई सरकारमा सहभागी गराउने दुवै दलको रणनीति देखिन्छ।

प्रधानमन्त्रीमा प्रचण्डलाई शुक्रवार विश्वासको मत नदिने दलहरू सरकारमा सहभागी हुन चाहेमा एउटा मन्त्रालय दिन दुवै दलबीच सहमति भएको देखिन्छ।

असार २७, २०८१ शुक्रबार २०:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।