प्रचण्डले विश्वासको मत नपाएकोबारे सभामुखले राष्ट्रपतिलाई जानकारी गराए, अर्को सरकार नबनेसम्म दाहालै प्रधानमन्त्री

प्रचण्डले विश्वासको मत नपाएकोबारे सभामुखले राष्ट्रपतिलाई जानकारी गराए, अर्को सरकार नबनेसम्म दाहालै प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएकोबारे सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयलाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको सभामुखको पत्र पाए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन भएसम्म उनकै मन्त्रिपरिषद्ले काम गर्ने जिम्मेवारी तोकेका छन्।

प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले असार २८ मा प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेकोमा पक्षमा जम्मा ६३ मत मात्र परेको थियो।

उनको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन सकेन। अब राष्ट्रपतिले संविधान अनुसार नयाँ सरकार गठनको आव्हान गर्नेछन्। राष्ट्रपति पौडेलले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त दलका नेतालाई सरकार गठनको दाबी पेस गर्न आव्हान गर्छन् या प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलको नेताको रूपमा नेपाली कांग्रेसलाई निमन्त्रणा गर्छन् सो भने खुलेको छैन।

विश्वासको मतको प्रस्ताव असफल भएपछि प्रचण्ड शुक्रबारै प्रधानमन्त्रीको सरकारी निवासबाट निजी निवासमा सरिसकेका छन्।

असार २७, २०८१ शुक्रबार १९:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।