फिल्म छायाङ्कनमा नजाँदै विवादको गोल चक्करमा ‘जेरी: अन टप’, ‘जेरी’का निर्माता शेरचन र गौचन पुगे विकास बोर्ड

फिल्म छायाङ्कनमा नजाँदै विवादको गोल चक्करमा ‘जेरी: अन टप’, ‘जेरी’का निर्माता शेरचन र गौचन पुगे विकास बोर्ड

काठमाडौँ : एक साता अघि फिल्म ‘जेरी : अनटप’बाट आफूलाई थाहै नदिई निकालेको भन्दै अभिनेत्री आशा शर्माले आपत्ति जनाइन्। उनले सामाजिक सञ्जालमार्फत निर्माण टिमले आफूलाई २ वर्षदेखि झुलाएको आरोप लगाएकी थिइन्। यो विवादको समाधान भइसकेको छैन। फिल्म निर्माण टिम पुन अर्को विवादमा फसेको छ।

सरोज न्यौपानेले निर्माण गर्न लागेको फिल्म ‘जेरी: अन टप’प्रति पुरानो ‘जेरी’ फिल्मका निर्माता मनोजकुमार शेरचन र सह-निर्माता सम्राट्प्रसाद गौचनले फिल्म ‘जेरी’मा अनटप थपेको भन्दै आपत्ति जनाउँदै निवेदन दिए। उनीहरूले बिहीबार चलचित्र विकास बोर्डमा चलचित्र निर्माणसँगमा आफ्नो नाम राखेकोमा आपत्ति जनाउँदै निवेदन दिए।

२०७१ कात्तिक २८ मा रिलिज भएको अनमोल केसी अभिनीत फिल्म ‘जेरी’को नाममा ‘जेरी: अन टप’थपेर सरोज न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन्। अनि पुरानो ‘जेरी’ फिल्मका निर्माता शेरचन र गौचन फिल्मको निर्माण नै रोक्न सक्रिय भए।

विवादको जरो के हो?

दश वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘जेरी’का निर्माताद्धय शेरचन र गौचनका अनुसार सरोज न्यौपानेले ‘जेरी’को सिक्वेलका रूपमा ‘जेरी–२’ निर्माण गर्न आफू इच्छुक रहेको भन्दै उनीहरूबाट ‘जेरी–२’ टाइटल प्रयोगको अनुमति मागेका थिए।

न्यौपानेले आफूलाई जेरी नाम मन परेको भन्दै अनुमति दिन अनुरोध गरेपछि मनोजकुमार शेरचन र सम्राट्प्रसाद गौचनले १५ लाख रुपैयाँको सर्तमा अनुमति दिए। सोही अनुरूप २०७९ असार २० मा दुई पक्षबीच सम्झौता भयो।

तर, सम्झौता भएको ६ महिनापछि न्यौपानेले ‘जेरी–२’ नबनाउने र ‘जेरी’ टाइटल पनि आवश्यक नपरेको भन्दै जेरीका निर्मातासँग पैसा फिर्ता मागे। ‘जेरी’का निर्माताका अनुसार न्यौपानेको अनुरोधपछि शेरचनले आफूले पहिलो किस्तावापत् लिएको ५ लाख नगद फिर्ता गरिदिए। न्यौपानेसँगको सम्झौता पत्र पनि रद्द गरिदिए।

न्यौपानेसँगको सम्झौता रद्द भएपछि निर्माताद्धय शेरचन र गौचन ‘जेरी–२’को तयारी गर्दै गर्दा ‘जेरी’कै नाम राखेर सरोज न्यौपानेले ‘जेरी: अन टप’ बनाउने घोषणा गरे। यसपछि उनीहरुबीचको द्वन्द्व सुरु भयो।

जेरीका निर्माताले आफ्नो फिल्मको नाम न्यौपानेले पोस्टरमा ‘जेरी’ शब्दलाई ठुलो साइजमा हाइलाइट गराएको र ‘अन टप’लाई सानो साइजमा राख्न लगाएको आरोप लगाए।

 ‘न्यौपानेको नियत हामीसँग अनुमति नै नलिई बिना कुनै शुल्क ‘जेरी’ नाम भजाउनु रहेछ,’ शेरचन र गौचनले भने, ‘उनको यो क्रियाकलापले गर्दा मिडिया र आम दर्शकमा ‘जेरी: अन टप’ नै ‘जेरी’को सिक्वेल हो भन्ने भ्रम पैदा भएको छ।’

‘जेरी’का निर्माता शेरचन र गौचनले आफ्नो पुरानो ‘जेरी’फिल्मसँग नयाँ ‘जेरी: अन टप’सँग कुनै पनि साइनो नरहेको प्रस्ट पारेका छन्। उनीहरूले छिट्टै नै ‘जेरी–२’ निर्माण गर्न लागिएको बताउँदै कथा लेख्ने काम भइरहेको बताए।

यता न्यौपानेले फिल्मको नाम नजुधेको र आफूले चलचित्र विकास बोर्डमा दर्ता गरेको हुनाले आफूलाई समस्या नपर्ने बताए।

उनले उकेरासँगको कुराकानीमा भने,‘मलाई कुनै अप्ठ्यारो छैन। मैले चलचित्र विकास बोर्डमा चलचित्र दर्ता गराएर छायाङ्कनको लागि रेडी पारेको छु। उहाँहरूले उहाँको काम गर्ने हो, मैले मेरो काम गर्ने हो।’ उनले फिल्मको निर्माण नरोकिने समेत दाबी गरे।

असार २८, २०८१ शुक्रबार १५:५६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।