दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्चले दियो अन्तरिम जमानत, तर जेलमै रहने

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्चले दियो अन्तरिम जमानत, तर जेलमै रहने

एजेन्सी : सर्वोच्च अदालतले उत्पादन शुल्क नीति मुद्दामा दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ।

दुई न्यायाधीशको संयुक्त इजलासले यस मामिलामा केही प्रश्नहरू रहेको भन्दै त्यसलाई पूर्ण इजलासले हेर्नुपर्ने बतायो।

न्यायाधीश सञ्जीव खन्नाले भने, ‘अरविन्द केजरीवाल ९० दिनभन्दा बढी समयदेखि जेलमा छन्। निर्वाचनका बेला रिहा भएकै शर्तमा उनलाई अन्तरिम जमानत दिइन्छ।’

इजलासले केजरीवाल एक निर्वाचित नेता भएको बताउँदै मुख्यमन्त्री रहने वा नरहने भन्ने विषयमा निर्देशन दिन नसकिने बतायो।

न्यायाधीश सञ्जीव खन्नाले भने, ‘हामी यसबारे निर्णय लिने जिम्मेवारी अरविन्द केजरीवाललाई नै छोड्छौँ।’

अदालतले अन्तरिम जमानत दिए पनि केजरीवाल अहिले नै जेलबाट निस्कन पाउने छैनन्। सीबीआईले उनलाई केही दिनअघि पक्राउ गरेको थियो।

केजरीवालले सीबीआईले गरेको गिरफ्तारीलाई दिल्ली उच्च अदालतमा चुनौती दिएका छन्। यस मुद्दाको सुनुवाई जुलाई १७ मा हुनेछ।

दिल्लीको मदिरा नीतिमा कथित घोटालाको आरोपमा अरविन्द केजरीवाललाई मार्च २१ मा पक्राउ गरिएको थियो।

पक्राउविरुद्ध उच्च अदालतमा चुनौती दिइए पनि त्यो खारेज भएको थियो। त्यसपछि यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो।

सुनुवाइपछि सर्वोच्चले लोकसभा चुनावका लागि केजरीवाललाई १० मे मा अन्तरिम जमानत दिएको थियो।

जसअनुसार उनी २१ दिनका लागि जेलबाहिर रहेर चुनाव प्रचार गर्न पाउने थिए। उनले जमानतको लागि जुन २ सम्मको समय पाएका थिए।

असार २८, २०८१ शुक्रबार १४:१८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।