ओलीमाथि कटाक्ष गर्दै कांग्रेसलाई प्रचण्डको आग्रह- ‘कृपया संसदचाहिँ बचाउनुहोला’

ओलीमाथि कटाक्ष गर्दै कांग्रेसलाई प्रचण्डको आग्रह- ‘कृपया संसदचाहिँ बचाउनुहोला’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई संसद चाहिँ जोगाउन आग्रह गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले नयाँ सरकार संविधान नमिची बनाउन आग्रह गर्दैै संसद चाहिँ बचाउन आग्रह गरे।

‘म कांग्रेस-एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु। तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला,’ उनले भने, ‘नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला। कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसदचाहिँ बचाउनुहोला।’

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै उनले हिजोका दिनमा संविधान मिच्दा आफूहरू मिलेर संविधान बचाएको स्मरण गराए।

‘संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन्। हिजो हामी मिलेर जोगाएका हौँ। अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला।’

असार २७, २०८१ शुक्रबार १३:३४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।