‘माफियाहरूले कांग्रेस-एमालेलाई एकै ठाउँमा ल्याउने काम गरे’

‘माफियाहरूले कांग्रेस-एमालेलाई एकै ठाउँमा ल्याउने काम गरे’

काठमाडौं : राज्य शक्तिलाई नियन्त्रणमा लिएर आपराधिक काम गरिरहेकाहरूमाथि सरकारले कारबाही सुरु गरेपछि आत्तिएका उनीहरूले नै प्रतिनिधि सभाको पहिलो र दोस्रो ठुलो दललाई मिलाउने काम गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरे।

प्रतिनिधि सभामा विश्वासको मात माग्ने क्रममा सम्बोधन गर्दै उनले राज्य शक्तिलाई नै नियन्त्रणमा लिएर काम गरिरहेकाहरूमाथि सरकारले निष्पक्ष अनुसन्धान सुरु गरेपछि उनीहरू आत्तिएर आफ्नो सरकारविरुद्ध काम गरेको उनको दाबी थियो।

उनले गृहमन्त्री भइसकेकालाई प्रहरीले नियन्त्रणमा लिने, उपप्रधानमन्त्री भएकाहरू अहिले पनि थुनामा रहेको कल्पनै गर्न नसकिने कामहरू आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै उनले ललितानिवास, बाँसबारी जग्गा, भुटानी शरणार्थी प्रकरण, बालमन्दीरको जग्गा लगायतबारे अनुसन्धान गर्दा डराएका माफियाहरू एक भएर एमाले र कांग्रेसलाई मिलाउने काम गरेको उनको दाबी थियो।

‘कुनै यति, कुनै ओम्नी, कुनै गिरीबन्धुको बोझ नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने देखाएँ,' उनले भने 'जनता जाग्नोस्, अब शक्ति नदेखाउने हो भने शक्ति माफियाको हातमा जाने जोखिम छ।'

उनले कांग्रेस र एमालेबीचमा सहमति भइसक्दा पनि एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर भएको छैन। तीन दल बसेर छलफल गर्ने हो’ भनेको उनले दाबी गरे।

‘१८ गते बिहान आएर एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति भएको हैन भने। फोटो देखाउँदा समेत सहमति भएकै छैन। कुन बेलाको फोटो रहेछ भने, ’ उनले भने 'कांग्रेस सभापतिलाई फोन गरेर के हो भनेर सोध्दा सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो। सरी। तीन दल बसेर के गर्नु, सहमति भइसक्यो। हस्ताक्षर भइसक्यो भन्नुभयो।'

असार २७, २०८१ शुक्रबार १२:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।