१८ गते विहान ढाँटेपछि ओलीलाई प्रधानमन्त्रीले भने, ‘ढाँटछलको पनि एउटा सीमा हुन्छ नि!’

१८ गते विहान ढाँटेपछि ओलीलाई प्रधानमन्त्रीले भने, ‘ढाँटछलको पनि एउटा सीमा हुन्छ नि!’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलेको ढाँटछलको सीमा नभएको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले १७ गते राति दुई दलबीच सहमति गरिसकेर भोलिपल्ट सहमति नै भएको छैन भनेर आफूमाथि ढाँटछल गरेको बताए।

‘१७ गते राति दुई दलको बीचमा सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो। १८ गते विहान आएर एमाले अध्यक्षले भएकै छैन भन्नुहुन्छ,’ उनले भने, ‘मैलै पत्रिका देखाउँदै फोटो आइसक्या छ तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको भनेँ तर उहाँले कहिलेको रछ भन्नुभयो। ढाँटछलको पनि एउटा सीमा हुन्छ नि!’

आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गर्दा उनले अब सम्भव नभएको भन्दै सरी भनेको प्रसङ्ग समेत प्रधानमन्त्री दाहालले सदनमा भने।

‘अनि नेपाली कांग्रेसका सभापति शेरबहादुरजीलाई फोन गरेर एमाले अध्यक्षले त सहमति भएको छैन, तीन नेता बसेर टुंग्याउने भन्दै हुनुहुन्छ भनेँ,’ उनले थपे, ‘त्यसपछि सभापति देउवाले मलाई भन्नुभयो, ‘सहमति भइसक्यो। हस्ताक्षर भइसक्यो। म ढाँट्न जान्दिन। सरी। यो तीनटा बस्न आवश्यक छैन।’

सोही प्रसङ्गमा प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेका कतिपय नेतालाई आफूहरू आफैँ मिलेको जस्तो लागे पनि त्यसो नभएर मिलाइएको दाबी गरे। सरकार सुशासनतर्फ अघि बढिरहेको बेला सत्ता परिवर्तन भएको भन्दै उनले आफ्ना पालामा भएका कामको फेहरिस्त सुनाए।

असार २७, २०८१ शुक्रबार १२:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।