सिमलतालमा हराएको एन्जल डिलक्समा २४ र गणपति डिलक्समा ३१ यात्रु सवार

सिमलतालमा हराएको एन्जल डिलक्समा २४ र गणपति डिलक्समा ३१ यात्रु सवार

काठमाडौं : चितवनको सिमलतालमा पहिरोमा बगेको एन्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा २१ यात्रुसहित २४ जना सवार रहेको खुलेको छ।

वीरगञ्जको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको बस काउन्टरको विवरणमा उल्लेख छ।

वीरगञ्जबाट छुटेको एन्जल डिलक्समा सात भारतीय यात्रु समेत रहेका थिए। बस पर्साको रंगपुरबाट काठमाडौंका लागि चल्ने गरेका थियो।

प्रतिमाचोकमा रहेको विवरणअनुसार बसमा हेल्परको रुपमा साहु राजेन्द्र केसी, चालक नगवाका जवाहिर महतो र सहचालक चौधरी थरका एक व्यक्ति थिए।

यस्तै बसमा सवार यात्रुहरूमा अरविन्द दुवे, सुरेन्द्र शाह, हरिन्द्र पण्डित, शेहनबाज आलम, हृदय नारायण राउत, सलिम मिया, जैनबर खातुन र रैजुल आलमको पूरा नाम उल्लेख छ।

बाँकी यात्रुको नाम अन्सारी, सन्तोष, आविन्द, सुनिल, प्रकाश, प्रमानन्द लेखिएको छ।

बसको खोजीका लागि अहिले पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई सय भन्दा बढी फौज खटिएको छ।

शुक्रबार विहान तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस बगाएको थियो।

गौर जाँदै गरेको बागमती प्रदेश ०००१ ख २४९५ नम्बरको बसमा चालक र सहचालकसहित २९ जना यात्रु काठमाडौं बसपार्कबाट चढेका थिए। दुई जना बीच बाटोबाट चढेका थिए।

असार २७, २०८१ शुक्रबार १०:५७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।