पहिरोले पुरिएर पोखरामा एकै परिवारमा सातसहित १० जनाको मृत्यु

पहिरोले पुरिएर पोखरामा एकै परिवारमा सातसहित १० जनाको मृत्यु

कास्की : बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित १० जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएकी छन्।

पोखरा महानगरपालिका-१९ तल्लोकोटमा एकै परिवारका ७ जना घरभित्रै पुरिँदा पोखरा-३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको हो। मादी गाउँपालिका-११ तल्लो साप्लेमा पहिरोमा पुरिएर एक जना बेपत्ता छिन्।

पोखरा-१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियारकाे मृत्यु भएको हो।

उनकाे साथमा पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए

उनका अनुसार मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन्। छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धारमा खटिएकै क्रममा पुरिएर निधन भएको थियो।

पोखरा-३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता छिन्। उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ।

असार २७, २०८१ शुक्रबार ०७:४७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।