संगीतकार सिके रसाइलीको हिजोको कुरा : उदितलाई आशीर्वाद दिएर मुम्बई पठाएँ, तर गुरु भन्न पनि हिच्किचाए

संगीतकार सिके रसाइलीको हिजोको कुरा : उदितलाई आशीर्वाद दिएर मुम्बई पठाएँ, तर गुरु भन्न पनि हिच्किचाए
तस्बिर : कृष्पा श्रेष्ठ

नेपालका पुराना वाद्यवादक तथा संगीतकार हुन् सिके रसाइली। उमेरले ८३ वर्षको टेके पनि उनको जोस-जाँगर भने युवा पुस्ताको भन्दा कम छैन। नेपाली सेनामा २६ वर्ष काम गरेर अवकाश पाएका रसाइलीको घर तेह्रथुमको सदरमुकाम म्याङलुङ हो। तर, उनको बाल्यकाल भारतको सिलोङ अनि मलेसियाको मलायामा बित्यो।  

उनका बुबा, दाजु र फुपू-फुपाजु ब्रिटिस सेनामाहुँदा दोस्रो विश्वयुद्ध चलिरहेको थियो। त्यहीमेसोमा उनी १० वर्षकोहुँदा भारत हुँदै मलाया पुगे। उनको बाल्यकाल ब्रिटिस सेनाको परेड खेल्दै त्यही रहनसहनमा बित्यो।  

सानै उमेरमा उनले ब्रिटिस सेनाको तालिम लिए। अनि संगीतमा पनि रुचि थियो। गीत गाउने, बाजा बजाउने लगायतमा उनको सक्रियता बढ्यो। आमाले पुर्वेली भाका गुनगुनाएको सुनेर उनले गोहाटीस्थित अल इण्डिया रेडियोमा गीत पनि गाए। त्यहाँ रहँदा वरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्री, हरिभक्त कटुवाल लगायतको संगत फाप्यो उनलाई। 

त्यही छवि बनेका कारण पनि वि.स. २०१८ सालमा उनी तत्कालीन राजा महेन्द्र शाहको जन्मोत्सवमा नेपाल आउने निम्तोमा परे।  राजा महेन्द्रलाई गीत सुनाएका उनले पछि उनकै रचनामा संगीत भर्न पाए। 

अरुणा लामाको ‘पोहोर साल खुशी फाट्दा’ देखि नारायण गोपालको ‘प्रेमको माला’ सहित पुराना थुप्रै स्रष्टासँग काम गरेका उनले विगत यसरी सम्झिए : 

000 

मेरो पुर्ख्यौली थलो तेह्रथुमको म्याङलुङ भए पनि बुबा, दाजुहरू ब्रिटिस आर्मी।अनि मेरो बाल्यकाल कहिले भारतको सिलोङ त कहिले मलायामा बित्यो।  

बुबाको जताजता कार्य क्षेत्र पर्थ्यो म त्यतै त्यतै पुगेँ। दोस्रो विश्वयुद्ध चलिरहेको बेला म मलाया पुगेको थिएँ। हामी ६/७ जना दाजुभाइ-दिदीबहिनी थियौँ। अहिले म र मेरो बहिनी मात्रै छौँ, अरू सबै बितेर जानुभयो। उनी अहिले गोहाटी इण्डियामा छिन्।  

मेरो परिवार नै  ब्रिटिस आर्मीमा भएकाले १०/१२ वर्षको उमेरमै आर्मीको तालिम लिएँ। आफन्त भएकाले भर्ती हुन पनि सजिलो थियो। १५ वर्षको भएपछि आर्मीमा भर्ती हुन मनै गएन। अनि भारत नै फर्किएँ।  

त्यहीबेला संगीतमा लागिरहेको थिएँ। गायनकै सिलसिलामा नेपाल आउने मौका पनि पाएँ। सिलोङमा रहेको नेपाली संस्था ‘नेपाली संगीत कला समिति’को बाट नेपाल आउनु पाएको हो त्यो बेलामा। नेपाल आउनुको  कारण चाहिँ, राजा महेन्द्रको जन्म उत्सवमा गीत गाउन।  

अल इण्डिया रेडियोमा पहिलो नेपाली गीत 

भारतस्थित गोहाटीको अल इण्डिया रेडियोमा नेपाली मुलका हरिप्रसाद राई निर्देशक थिए। त्यहाँ नेपाली कार्यक्रम चलाउने कुरा चलेको रहेछ। उनले नेपाली कलाकारको खोजी रहेका रहेछन्। त्यही मौकामा मैले पनि भ्वाइस टेस्टो गर्न अल इण्डिया रेडियोमा पुगेँ। त्यतिबेला मलाई नेपाली गीत आउँदैनथ्यो। हिन्दी, बंगाली, आसामी गीतहरू आउँथ्यो। लिलबहादुर क्षेत्री दाई अनि डाइरेक्टरहरू नेपाली भएकाले मैले मौका पाएँ।  

त्यतिबेला रेडियो नेपालमा गीतहरूको चालामाला त्यति खास थिएन। दिल्लीबाट भने नेपाली गीतहरू रेडियोमा बज्थ्यो। तर, मलाई नेपाली गीत गाउन कठिन थियो।  

एउटा साथीले मलाई सहयोग गर्यो। गीतको लय मेरी आमाबाट सिकेको। उहाँले बेलुका सुत्ने बेलामा नेपाली गीत गुनगुनाउनु हुन्थ्यो। त्यो पनि पुर्वेली भाकामा रैछ। मैले सुनें।  

लय टिपेको धेरै समयपछि मैले आमालाई उहाँले गाउने गीतको भाका सोधेँ। यो हाम्रो पुर्वेली गाउँघरको लोक भाका हो भन्नुभयो। तर, कता-कता आमाको बिलौना आएजस्तो भयो। अनि मेरो साथी कुमार राई भन्नेले शब्द कोर्यो।  

मैले उसलाई दिएको इसारामा आमाको बारेमा गीत लेख्ने कुरा गरेको थिएँ। उसले गज्जबै लेखेछ।  

‘जन्मेकै दिन माताले कस्तो दुख कष्ट पाएर’ भन्ने भावको गीत लेखिदियो। अल इण्डिया रेडियोमा त्यो गीत गाएपछि चर्चा भयो। यो सन् १९५९ तिरको कुरा हो।  

सिलोङमा नेपाली संगीत कला समिति भन्ने संस्था थियो। त्यो संस्थामा म पनि सदस्य थिएँ। त्यतिबेला राजाको जन्मोत्सवमा देश विदेशमा रहेका प्रतिष्ठित मान्छेहरु काठमाडौं आउने गर्थे। राजा महेन्द्रको कल्चर डेलिगेसनमा म पनि नेपाल आउने पाएँ। 

वि.स.२०१८ सालमा म नेपाल आएँ। नेपाल बाहिर हुर्केकोले मेरो बोल्ने शैली फरक थियो। नेपाल आएपछि भने शैली विस्तारै परिवर्तन हुन थाल्यो। नेपाली भाषा सुधार भो। १८ पछि लगातार ३ पटक नेपाल आउने मौका पाएँ। 

राजाको जन्मोत्सवमा आउँदा ख्यातिप्राप्त र सफल मान्छेहरू भेट्थेँ। बलिउडका अभिनेता अमिताभ बच्चनका बुबा डा. हरिवंश राय बच्चन समेत राजा महेन्द्रलाई भेट्न आएका थिएँ। ट्यालेन्टेट मान्छेहरूलाई काम गर्न दिनुपर्छ भन्ने सोच राजा महेन्द्रमा भेटेँ।  

नेपाल बाहेक भारतको सिलोङ, सिक्किम दार्जेलिङ, भुटानमा साहित्यकार, संगीतकार, चित्रकार, प्रतिभावानहरुलाई निमन्त्रणा गर्नुहुन्थ्यो। देशमै केही गरुन्,नेपालीहरू विदेशमा नबसुन् भन्ने सोच देखेँ मैले। 

राजा महेन्द्रको जन्मोत्सवको समयमा नेपाल आउँदा मैले त्यही गीत रेडियो नेपालमा प्रवेश गराएँ। नेपाल आउन थालेपछि नातिकाजी, शिव शंकर, तारादेवी, कोइलीदेवी, हरिप्रसाद, हाम्रो पुस्ता गोविन्दलाल लगायतसँग मेरो भेटघाट बढ्यो। उहाँहरूसँगै रेडियो नेपालमा म पनि भित्रिएँ। अनि मेरो संगीतयात्रा सुरू भयो। 

अटोग्राफ लिँदाको खुशी 

किन-किन त्यतिबेला राजासामु पर्दा खुट्टा काम्थ्यो। महेन्द्रको जन्मोत्सवको समयमा मलाई उहाँको अटो लिने खुब इच्छा थियो। पछि उहाँसँग अटोग्राफ मागें पनि। उहाँले सहजै दिनुभयो। महेन्द्रसँग अटो लिंदा मेरो भुईँमा खुट्टै थिएन।  

पुष्प नेपाली, तारादेवी, नातिकाजी लगायत व्यक्तित्वको मैले अटोग्राफ लिने मौका पाएँ।  

दोस्रोपटक राजा महेन्द्रको जन्मोत्वमा आउँदा ‘फेरि उसैको लागि’ नामक किताब लेख्नुभएको रैछ। रानीको नाममा लेख्नुभएको रहेछ त्यो किताब। त्यो किताब सिके रसाइलीलाई दिनु, अनि किताबबाट शब्द झिकेर मलाई संगीतबद्ध गरेर सुनाउनुपर्यो भन्नुभएको रहेछ।  

राजाको प्रतिनिधिले मलाई बोलाएर 'तपाईँलाई जे शब्द राम्रो लाग्छ, त्यही संगीतबद्ध गर्नुपर्यो भन्ने कुरा सरकारले भन्नुभएको छ' भनेपछि म त थरथर कापें।  

अब मेरो नाम लिएर शब्द छानेर संगीत बनाएर सुनाउनु भन्ने सुनेपछि एक किसिमको डर पनि रह्यो नै। त्यतिबेला भर्खर १८/१९ को ठिटो, के गर्ने के नगर्ने भयो। अब मैले किताब भित्रको शब्द खोजेर संगीत गर्नुपर्ने भयो।  

किताबभित्रका शब्द हेर्दा एउटा शब्दमा आँखा गड्यो। त्यो अलिक सिरियस  थियो, ‘दुखेको दिल टुटेको मन, दुखेको चुरचुर भो नी, थियो आशा सधैँ जस्को, ऊ उसको सधैँ भो नी’।  

यो शब्दलाई लिएर एउटा रागको बेसिकमा सुनाउने निर्णय गरें। मलाई जसले किताब दिनुभयो उहाँलाई नै मैले सायरी तरिकाबाट गीत तयार पारेको छु, म सरकारलाई सुनाउन सक्छु? भनेर सोधें।   

उहाँले ल ठिक छ भन्नुभयो र अर्को दिन सुनाउने व्यवस्था मिलाउनुभयो। अहिलेको राष्ट्रिय नाचघरमा राजा महेन्द्र मेरो अगाडि बस्नुभयो र मैले उहाँको शब्दलाई संगीतमार्फत सुनाएँ।  

त्यसबेला उहाँले केही भन्नुभएन। म त नेपाल निमन्त्रणामार्फत आएको, पर्सिपल्टघर फर्किएँ।  

पछि राजा महेन्द्रबाट मेरो खोजी भएछ। भाग्यमा नभएपछि कसको के लाग्छ र? मलाई नभेटेपछि उहाँले शास्त्रीय गायक नवराज ढकाललाई बोलाएर यो रेकर्ड गरेर आउनु चाँडै भनेर कलकत्ता पठाउनुभयो। त्यो पनि खर्च दिएर।  

उहाँले रेकर्ड गरेर ल्याएपछि रेडियोमा बज्न थालेछ। एकदिन त्यो गीत रेडियोमा बजेको सुनेपछि छक्क परें। पछि त रेडियोबाट त्यो गीत निकै बज्न थाल्यो। गीतको शब्द मलाई लोभ लागि रहेको थियो।  

म २०२६ सालतिर नेपाल आएँ। रेडियो नेपालमा काम पनि थालें। एउटा गीतमा वाद्यवादन भरेको १० रुपैयाँ दिन्थे। शास्त्रीय गायक ढकाल गुरुसँग कहिलेकाँही नारायणहिटी अगाडि भजन गाउन जान थालें।  

उहाँ प्राय नारायणहिटीमा गीत गाउन गइरहनुहुन्थ्यो। अलि पछि उहाँलाई मैले 'हजुरलाई एउटा प्रश्न गर्न मन लागेको थियो' भनें। उहाँले भन भन्नुभयो। 'हजुरले महाराजधिराजको त्यो गीत कस्तो मिठो गरि रेकर्ड गरेर ल्याउनुभएछ, म त सुनेर बडा मस्त भएँ, अहिले त्यही गीत गुनगुनाउन मन लागिराछ, सुनाउँछु है?' भनें।  

अनि फेरि 'गुरु तपाईँले यो गीत कसरी गाउनुभो?' भनेर डराई डराई सोधेँ। उहाँले मलाई यथार्थ भन्नुभयो। उहाँको कुरा सुनेपछि 'यो गीत मैले महाराजाधिराजलाई सुनाएको थिएँ' भनें। उहाँ झसंग हुनुभयो।  

महेन्द्रको शब्दमा के थियो विशेषता ?

त्यो समयमा गीतका शब्दको विशेषता खोज्ने चलन थियो। मैले पनि राजाको शब्दमा विशेषता खोज्न थालें। त्यत्रो किताबको ठेलीमा गीत नै गीत छन्। यही शब्द रोज्नुको कारण के होला भन्ने ममा पर्यो। अनि मैले नवराज ढकाललाई सोधेँ। उहाँले ‘खै सिके मलाई के थाहा’ भन्नुभयो। सरकारको विषयमा कसले  थाहा पाउनु ! तर ममा यसको विशेषता केही छ भनेर हुटहुट्याइरह्यो।  

रेडियो नेपालमा रहँदा बस्दा धेरै कुरा जानकारी हुँदै गयो। बुझ्दै गएँ। राजा महेन्द्रका दाजुभाइहरू पनि बुझिँदै गइयो। त्यही क्रममा मैले शब्दको विशेषता खोज्दै जाँदा राजाको जेठो छोरा पनि चिनियो। राजाको जेठो छोरो वीरेन्द्र नभई रविन्द्र वीर बिक्रम शाह रैछन्।  

दरबारको धेरै कुरा हामीलाई थाहा हुँदै गयो। रविन्द्र शाहले दरबारको फेसिलेटी नपाउने, वीरेन्द्रले मात्रै पाउने। त्यही भएर रविन्द्रलाई अलग्गै ठाउँमा घर दरबार दिएर सुरक्षासाथ राखिएको रहेछ। 

अनि पो राजा महेन्द्रले यो गीतलाई रचना गर्नुभएको रैछ भनेर बुझियो। यो गीतको शब्दमा त्यस्तै त्यस्तै भाव थियो। 

अब गीतमा के भनिएको छ भने, ‘फुलेको फूल र झरेको फूल दुवै त हुन फूल।’ यो गीतको शब्दमा अर्थ रैछ विशेष। एउटा झरेको र अर्का फुलेको फूल। मैले कहाँबाट यो शब्द रोजेछु, थाहै भएन। मैले यो गीत सुनाएपछि राजा महेन्द्रले तारान्तार नवराज ढकाल गुरुलाई गीत रेकर्ड गराउन पठाउनुको कारण यो रैछ।  

कालिकास्थानको बाँसघारी भन्ने ठाउँ छ। त्यहाँ पलेटीमा गीत गाउन लगाउने गरिन्छ। त्यहाँ मैले केही वर्षअघि गाएको थिएँ। मैले जति गीत गाए पनि मलाई नदिँदा हुन्छ। तर, यो गीत देउ भनेर मागेको छु। मैले त्यो गीत अहिले सिडी र पेनड्राइभमा राखेर बेला-बेला सुन्ने गर्छु। मुड चल्दा गीत पनि गाउँछु।  

अरुणाले ‘पोहोर साल खुशी फाट्यो’ गाउँदिन भनिन्   

राजेन्द्र थापाले लेखेको ‘पोहोर साल खुशी फाट्यो, जतनगरी मनले टाले’ बोलको गीत गाउने समयमा अरुणा लामाले गीत गाउनै छोडेकी थिइन्। त्यसबेला उनी श्रीमान बितेको वियोगमा थिइन्। यो गीत रेकर्ड गर्दाको समय अहिले पनि सम्झन्छु। म रेडियोमा हुँदाखेरि अमर गुरुङ दाई आउनुभएको थियो। रेडियोमा उहाँले गीत रेकर्ड गर्दा मलाई खोज्नुहुन्थ्यो। किनभने म सबै कुराको समय मिलाइदिन्थे। त्यही भएर पनि म अमर दाइको रोजाइमा पर्थे।  

अमर दाइले यो गीत अरुणालाई गाउन दिने भन्ने कुरा गर्नुभयो। मैले गीतको शब्द हेरेपछि 'अमर दाई गीतको शब्द पनि यस्तो छ। भर्खर उनको श्रीमान बित्नुभएको छ। अरुणाले कसरी यो गीतको शब्द गाउँछ' भनेर कुरा राखें।  

फेरि मैले 'तैपनि उसले गाउन छोडिसकेको छिन्। यो गीतको शब्दले उनको जीवनको भोगाई नै बोकेको छ। आलो छ यो' भनेपछि अमर दाइले 'मैले फकाको छु, गाउँछिन्; भन्नुभयो।  

नभन्दै यो गीत रेकर्ड गर्ने कुरा भयो। अमर दाई र म स्टुडियोमा ट्याङट्याङ, टुङटुङ के के बजाउँदै बसिरहेका थियौँ। २ बजेतिर अरुणा आइन्। म त चुपचाप लागे, केही पनि बोलिन। अमर दाइले नै बोल्नुभयो।  

अरुणाले गीतको शब्द सुनेर गाउन थालिन्। त्यो बेला पनि म चुपै लागें। त्यो बेला बाजा बजाउनेहरु कोही पनि आएका थिएनन्। ३ बज्यो कोही आएनन्, ४ बजेपछि कता कताबाट एकजना आए। उसलाई भोइलन निकालेर बजाउन लगाएँ। मैले मेन्डोलिन ट्याङट्याङ टुङटुङ बजाए। अनि अरुणालाई 'तिमी फिलमा डुबेर गीत गाउ, म पुरा रेकर्ड भरि साथ दिन्छु' भनें। उनले हुन्छ दाई भनेर गाउन थालिन्। गीत रेकर्ड भइसकेपछि सबै छक्कै परियो। धेरै राम्रो बन्यो।  

मैले अरुणाका लागि कति गीत तयार पारेको हुन्थेँ। तर, मौका मिल्दैनथ्यो। सिके दाई म अर्कोपल्ट तपाईँले दिएको समयमा नै गीत गाउँछु भन्थिन्। तर अहँ, कहिल्यै उनले मेरो संगीतमा गीत गाउन पाइनन्। अन्तमा उनी आफैं बितेर गइन्। अरुणा राम्रो गायिका हुन्। उनको आवाज असाध्यै मीठो। मैले उनको गीतमा मेन्डोलिन बजाएका केही संग्रह राखेको छु।  

नारायण गोपालसँगको सहकार्य 

नारायण गोपाल मेरो असाध्यै नजिकको मित्र। मेरो घरमा आउने र उनको घरमा जाने आउने छँदै थियो। संगीतको क्षेत्रमा पनि हामी एकदमै नजिक थियौँ। उनी गीत गाउँदा निकै चुजी थिए। म पनि संगीत गर्दा कसैलाई फ्याट्ट ‘ल गाउ' भन्दिनँ थिएँ। किनभने आफूले सोचे अनुसारको गीत बाहिर नआउन सक्छ।  

एकदिन राजेन्द्र रिजालले ‘प्रेमको माला’ गीतको शब्द कोरेछन्। उनी गीतकार होइनन् तर, कसरी लेखेछन् मलाई पनि अचम्म लाग्छ। लेख्न चाहिँ उनैले लेखेका हुन्। त्यसमा बडो भावपूर्ण अर्थपूर्ण शब्दहरु छन्।  

अनि राजेन्द्रले ‘ल सिके दाई संगीत गर्दिनुपर्यो' भने। राजेन्द्र रिजाल, नीर शाहले पर्सनल रुपमा मलाई गुरु पनि भन्छन्। नामै तोकेर पनि बोलाउँदैनन्।  

कमलपोखरी नजिक राजेन्द्रले घर बनाउँदै थिए तर पूरा भएको थिएन। बन्दै गरेको घरमा नीर शाहले हार्मोनियम बोकेर आए। मैले हार्मोनियम यही बोकेर आएको छु, तपाईँले धन्दै मान्नु पर्दैन भने। अनि यस्तैयस्तै कुरामा राजेन्द्रले मैले पञ्चामृत (रक्सी) पनि लिएर आएको छु भने। मैले ल ल ठिक छ भनें। अनि गाउने कसले भन्ने कुरा भयो। राजेन्द्रले 'नारायण बुबालाई बोलाउनुपर्छ' भन्यो। अनि मैले के तिमीले नारायणलाई गाउन लगाउने बिचार गरेको हो भनेर सोधें। उनले हो नी गुरु भने।  

नारायण गोपाललाई फोन गरेर तिमी यहाँ आउनुपर्यो, तिम्रा लागि पञ्चामृत पनि रेडी छ भने। नभन्दै बेलुका आए। उनलाई  यो गीत गाउ भनें। गीतको शब्द देखेर नारायण छक्क परे।  

नारायण शब्द केलाउने, संगीत केलाउने अनि मात्र गाउने गर्थे। उनी जसको पायो उसको संगीतमा गीत गाउने मान्छे नै हैनन्। अनि मैले प्रेमको माला बोलको गीत यस्तो छ भनेर गाएर सुनाएँ।  

त्यो सुनाएपछि छक्कै परे। मेरो संगीत फरक हुन्छ भन्ने कुरा उनलाई थाहा छ। त्यसकारण पनि उनले गाउने निधो गरे। नारायणले संगीत सुनेपछि सिकेले राम्रो गरेछ भने। 

उदित नारायण झासँगको चित्त दुखाई 

उदित नारायण झालाई गीत गाउन लगाउने र आशीर्वाद दिने मान्छे मै हो। मेरोमा आउजाउ गरिरहन्थे।  

गत मार्चमा इण्डियामा एउटा कार्यक्रम थियो। त्यो कार्यक्रमका लागि घरमै आएर मेरो एउटा भिडियो खिचेर लगे। कार्यक्रममा उदित नारायण, कुमार सानु र अल्का थिए। मेरो भिडियो प्रसारण गर्ने भनिएको थियो। तर, प्रसारण भएन। मलाई लाग्छ त्यो उदितकै काम होला। उदितलाई मैले आशीर्वाद दिएर मुम्बई पठाएँ। तर पछि उनले गुरु भन्न पनि हिच्किचाए। 

उनको गायन यात्राको बेलामा मुम्बईको बान्द्रामा एउटा घर किनेका रैछन्। त्यो घरमा गएर बसें।  

हप्ता दिन बस्दा उनले मलाई एकजना सहयोगी भाई पनि दिएका थिए। त्यहाँ बस्दा निकै स्टुडियो घुमें। तर उदितले मेरो कोही कलाकारसँग परिचय गराएनन्। अक्षय कुमारको पनि त्यतिबेला संघर्ष थियो। त्यसबेला उदितले भेटे  तर मलाई परिचय गराएनन्।  

त्यसपछि गायिका अल्कासँग भेट भयो तर उदितले परिचय गराएनन्। मैले उदितलाई ‘किन मेरो परिचय नगराएको’ भनेर सोधें। उनले अहिले परिचय गराउने होइन भन्ने खाल्को कुरा गरे।     

उनले एउटा पञ्जाबी गायकसँग भने परिचय गराए। उनी मुम्बईको थिएनन्। बाहिरको भएकाले उहाँ मेरो गुरु हुनुहुन्छ भनेर चिनाए। ती गायकले तारिफ गरे।  

त्यसपछि मैले उदीतको मनमा के छ भन्ने बिचार गरेर एक हप्तामै नेपाल फर्किएँ। उनले मलाई आफ्नो सम्झिएनन्, मैले किन आफ्नो सम्झिनु। 

असार २७, २०८१ बिहीबार २२:२०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।