विराटनगर पुगेर गगनले भने' म मन्त्री बन्दिन'

विराटनगर पुगेर गगनले भने' म मन्त्री बन्दिन'

विराटनगर : एमालेसँगको गठबन्धनमा बन्ने सरकारमा मन्त्री बन्न नेपाली कांग्रेसका सांसदको बुढानीलकण्ठमा रहेको देउवा निवास धाउने क्रम तीव्र छ। तर अर्कातर्फ केही सांसद भने मन्त्री बन्न इच्छुक देखिएनन्।

एमाले अध्यक्ष केपी ओली आफ्नो नेतृत्वमा बन्ने सरकारमा पार्टीभित्रबाट अनि काङ्ग्रेसबाट समेत सर्वसाधारणमाझ सकारात्मक छवि भएका सांसदहरूलाई मन्त्री बनाउन इच्छुक देखिएका छन्।

त्यसका लागि पार्टीमा मापदण्डसहित सम्भावित मन्त्रीहरूबारे छलफल तीव्र छ। शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत पाउने सम्भावना देखिन्न। प्रचण्डले विश्वासको मत नपाएपछि शुक्रवारै सरकार गठनको सम्भावना देखिन्छ। तर कांग्रेसका केही सांसदहरू भने सरकारमा मन्त्री बन्न इच्छुक देखिएनन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा माओवादीसहितको गठबन्धनमा मन्त्री बन्न चाहेनन्। सरकार गठनको गृहकार्यकै बेलामा आफू पार्टीमा बसेर सङ्गठनको काम गर्ने घोषणा गरे।  ओली नेतृत्वको सरकारमा मन्त्री बन्न उनी इच्छुक देखिएका छैनन्।

अर्का महामन्त्री गगन थापालाई मन्त्री बनाउन ओली नै इच्छुक देखिएका छन्। तर बिहीबार थापाले पनि मन्त्री नबन्ने घोषणा गरे।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा  थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताए। पार्टी सभापति शेरबहादुर देउवालाई  सरकारमा नजानेबारे जानकारी गराएको उनले खुलाए।

'कांग्रेस र एमाले मिलेर शक्ति आर्जन गर्दै गर्दा सरकारले शक्तिको दुरुपयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्ता पक्षले पनि गराउनुपर्छ,' उनले भने' सत्ता पक्षको सांसदहरूको बेन्चको पहिलो हरफमा बस्छु म। त्यो पहिलो रो बाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न गर्ने, जबाफदेही बनाउने मेरो भूमिका रहन्छ।’

कांग्रेसमा मन्त्रीको आकाङ्क्षीमध्ये रमेश लेखकको नाम लगभग पक्का देखिन्छ। अन्यको हकमा सभापति देउवा छलफलमै देखिन्छन्। 

असार २६, २०८१ बिहीबार २०:३४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।