सिरहामा अख्तियारको अनुसन्धानमा रहेको पुल भेलले बगायो

सिरहामा अख्तियारको अनुसन्धानमा रहेको पुल भेलले बगायो

सिरहा : सिरहाको गोलबजार नगरपालिका-८ मैनावती नदीमा निर्माण गरिएको बाँध बुधबारको भेलले बगाएको छ। गत फागुन महिनामा बनेको बाँध पाँचौ महिनामै बगेको हो। बाँध बगाएपछि गोलबजार नगरपालिका वडा ४ चोहर्वा र वडा नम्बर ८ भाइजी टोलबीच आवागमन बन्द भएको छ। 

२०७५ सालमा गोलबजार नगरपालिकाले पुल निर्माण गरेको थियो। ठूलो नदीको बीचमा ३० फिट मात्र लम्बाइ र सात फिट उचाइ भएको पुल निर्माण गरिएको हो। दुईतिर नदी बग्ने र बीचमा बिना उपयोग पुल निर्माण भएपछि सञ्चारमाध्यमहरूमा पुलको उपयोगिता र डिजाइनबारे प्रश्न उठाइएको थियो। 

गलत डिजाइन र बिना प्रयोजन पुल निर्माण भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। छानबिनको क्रममा तत्कालीन मेयर देवनाथ साह र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलायो।

त्यसपछि नगरपालिकाबाट अन्यत्र सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत केसी पुनः गोलबजार नै सरुवा लिएर आएका थिए। उनी आउनासाथ गत पुष २९ गते हिउँदे नगरसभा गराएर मैनावती पुलको अधुरो काम पूरा गर्ने भन्दै ५० लाख बजेट विनियोजन गराए। 

सो क्रममा हालका मेयर श्याम कुमार श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत केसीलाई बजेट विनियोजन गर्न सघाएका थिए। 

नगरसभाबाट बजेट विनियोजन भएपछि केसीले नगरपालिकाको ट्रयाक्टर , ट्रिपर, स्काभेटर (जेसिभी ) र बजेट खर्चेर पुलको दायाँबायाँ बाँध बाँधेर आवागमन गर्ने सडक तयार पार्न लगाएका थिए।

त्यसपछि वडा नम्बर ४ चोहर्वा गाउँ र वडा नम्बर ८ को भाइजी टोलबीच आवतजावत गर्न मिल्ने बाँध बनाइएको थियो। नियम विपरीत र गलत डिजाइन अनुसार पुल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र आयोगले छानबिन गरिरहेको थियो। बाँध बाँधेर पुललाई प्रयोगमा ल्याउने र अख्तियारमा रहेको उजुरीको फाइललाई मुलतवीमा पुर्याउने उद्देश्यले बाँध निर्माण गरिएको स्थानीय बताउँछन्। 

तर, नयाँ बाँध बाँध्ने कामको डिजाइन र इष्टिमेट नदेखाएको, ठेक्का वा उपभोक्ता समिति के मार्फत काम गरिएको भन्ने कुरा गोप्य राखिएको भन्दै गोलबजार नगरपालिकाले बाँध बाँध्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुनः थप उजुरी परेको थियो।

दोहोरो उजुरी परेपछि गत चैत ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतहरुले पुल तथा बाँधको स्थलगत निरीक्षण गरी मुचुल्का उठाएको ८ का वडाध्यक्ष देवनारायण सिंहले बताए।  

असार २६, २०८१ बिहीबार २०:१६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।