ग्लोबल आईएमई बैंकले जापान पढ्न जानेलाई शैक्षिक कर्जा दिने
काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड तथा जापानीज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरे।
समझदारीअनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो। बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ।
बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेछ। जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन भएपश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्ने बताइएको छ।
यसैगरी आईएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूको कलेज शुल्क, भिसा शुल्क लगायतका भुक्तानीका लागि विद्यार्थीहरूलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ। जापान गएपश्चात विद्यार्थीहरूले त्यहाँबाट आफ्नो देशमा आइएमईबाटै सरलताका साथ पैसा पठाउन सक्ने बैंकले जनाएको छ।
असार २६, २०८१ बिहीबार १९:२९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।