बागमतीका १३ जिल्लाका पाँच हजार युवालाई सिपमूलक तालिम, आफ्नै व्यवसाय सुरु गर्न २०  हजारसम्म टेवा रकम

बागमतीका १३ जिल्लाका पाँच हजार युवालाई सिपमूलक तालिम, आफ्नै व्यवसाय सुरु गर्न २०  हजारसम्म टेवा रकम

हेटौँडा : प्रदेश युवा परिषद् बागमतीले युवाहरूलाई स्वरोजगार बनाउन ब्युटीशीयन, बिल्डीङ्ग ईलेक्ट्रीशियन, प्लबिङ्ग  लगायतका तालिम सञ्चालन गरेको छ। 

युवालाई स्वदेशमै स्वरोजगार बनाउन परिषद् बागमतीले एक वर्षको अवधिमा प्रदेशका १३ जिल्लाका ५ हजार युवालाई विभिन्न सीपमूलक तालिम दिएको जानकारी दिएको छ। 

बागमती प्रदेश सरकारले आर्थिक २०८१–०८२ को बजेटमै युवा सिप वर्ष घोषणा गरेको छ। युवालाई दक्ष जनशक्तिका रूपमा रूपान्तरण गर्न प्रदेश सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँ खर्च गरेको छ।  

तालिम सञ्चालन भएका ठाउँमा स्थानीय तहले सहकार्य र अनुगमन गर्ने गरेका छन्। परिषद्ले कुक वेटर, हाउसकीपिङ, बारिष्ठ, गार्भेन्ट एण्ड टेलरिङ, फेसन डिजाइनर, फर्निचर, प्लम्बीङ, बिल्डिङ ईलेक्ट्रीशियन, नर्सरी तथा गार्डेन व्यवस्थापन, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता, ब्युटी पार्लर, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, मन्टेश्वरी, लगायत २६ विषयमा तालिम सञ्चालन गरेको थियो। 

तालिम लिएका युवाहरूलाई आफ्नो व्यवसाय सुरु गर्न बागमती प्रदेश सरकारले टेवा पुँजीका रूपमा ३ करोड बजेट छुट्टाएको छ।  

सिप सिकेका युवालाई १५ देखि २० हजार रुपैयाँसम्म उपलब्ध गराउन कार्यविधि बनाइएको परिषद्ले जानकारी दिएको छ।  

सीप परीक्षण गर्न बागमती प्रदेश युवा परिषद्ले सिटीभीटीसंग सम्झौता गरिसकेको प्रदेश युवा परिषद् बागमती उपाध्यक्ष सन्तोष चौलागाईले बताए।  

तालिम लिएका युवाको सीप परीक्षण गरेर पास भएकाहरूलाई टेवा पुँजी दिने चौलागाईले बताए। सीप सिकेका युवा स्वदेशमै बसे उनीहरू स्वरोजगार बन्ने र विदेश गए पनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्ने उनले बताए। 

असार २६, २०८१ बिहीबार १७:१४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।