एनसेलका ग्राहकले अब डेटा प्याक र ब्यालेन्स नभएको बेला पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने

एनसेलका ग्राहकले अब डेटा प्याक र ब्यालेन्स नभएको बेला पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने

काठमाडौं : एनसेलका ग्राहकले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन्।

एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेपछि यस्तो सम्भव भएको हो।

एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरि दुई प्रोडक्टहरू फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ। विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक भएको एनसेलले जनाएको छ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ। त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरूले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुक पहुँचको सुविधा पाउँछन्।

यी दुवै प्रोडक्टहरूमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागु हुनेछ।

यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्याउने एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले जानकारी दिए।

डिस्कभर एक एन्ड्रोइड एप हो। एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुनेगरि इन्टरनेट चलाउन सक्छन्। यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ। टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामाग्री उपलब्ध हुँदैन।

यसैगरी स्वास्थ्य एवं सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरुमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरु बुकमार्क गरिएको छ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन्।

यसको मतलब ग्राहकहरूले आफ्नो स्टाटस, पोस्टहरु राख्ने, फोटोहरु हेर्ने र राख्ने जस्ता कामहरू गर्न सक्छन्। ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरु स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन्।

असार २६, २०८१ बिहीबार १३:२७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।