उपत्यकाका तीन पालिकाको एसईई नतिजा केलाउँदा काठमाडौं उत्कृष्ट, ललितपुर तेस्रो
काठमाडौं : केन्द्रीय सरकारले विद्यालय तहको शिक्षाको जिम्मा स्थानीय तहलाई सुम्पिइसक्यो। स्थानीय तहहरूले पनि सोही अनुसार कक्षा १२ सम्मका विद्यालयहरूको बेलाबेलामा अनुगमन र निरीक्षण्का साथै आवश्यक निर्देशन पनि दिइरहेको देखिन्छ।
स्थानीय तहमा अधिकार आएसँगै विद्यालयमा लगानी र स्थानीय सरकारको चासो दुवै बढेको छ। लगानी बढेसँगै विद्यालय र विद्यार्थीको नतिजामा सुधार आउनुपर्ने हो। तर, हालै सार्वजनिक भएको २०८० सालको एसईई परीक्षाको नतिजाले त्यस्तो देखाउँदैन।
२०८० सालको एसईईमा देशभरबाट आधाभन्दा कम विद्यार्थी मात्र सफल भए। उनीहरू ‘ग्रेडेड’ हुँदा बाँकी ५१.१४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए। उनीहरू अहिले पुरक परीक्षाको तयारी गरिरहेका छन्।
एसईईको नतिजा पल्टाउँदा सबैभन्दा दयनीय अवस्था सामुदायिक विद्यालयको देखिन्छ। देशभरका निजी विद्यालयले एसईईमा राम्रो नतिजा ल्याउँदा सामुदायिक विद्यालयको नतिजा भने भने हेर्नलायक छैन। कतिपय सामुदायिक विद्यालयमा त एक जना पनि विद्यार्थी उत्तीर्ण हुन नसकेको निल पल्टिएको छ।
तर, यसो भनिरहँदा काठमाडौं उपत्यकाका दुई महानगरपालिका र एक नगरपालिकामाथि अन्याय हुन जान्छ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा अध्ययनरत सामुदायिक विद्यालयको नतिजा भने देशका अन्य सामुदायिक विद्यालयको भन्दा फरक छ।
काठमाडौं महानगरबाट यसपटकको एसईई परीक्षामा ३ हजार ९ सय ६१, ललितपुर महानगरबाट १ हजार ३ सय १५ र भक्तपुर नगरपालिकाबाट ८ सय १९ गरि जम्मा ६ हजार ९५ विद्यार्थी सहभागी भएकोमा ४ हजार ३ सय ९५ अर्थात ७२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण भए। बाँकी १७ सय विद्यार्थीले अहिले पूरक परीक्षाको तयारी गरिरहेका छन्।
यी तीन पालिकाबाट ९८ सामुदायिक विद्यालयका विद्यार्थीहरू एसईईमा सहभागी भएका थिए। यस पटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्था थियो। जसमा सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा कम्तीमा २७ र आन्तरिक तथा प्रयोगात्मकतर्फ २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ।
काठमाडौंमा उच्च अंकको वृद्धि
तीन पालिकामध्ये काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालय सबैभन्दा बढी सफल देखिएका छन्। महानगरबाट परीक्षामा सहभागी भएका ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए।
यहाँका केन्द्रीय बहिरा विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, कुलेश्वर माध्यमिक विद्यालय, शान्ति निकुञ्ज माध्यमिक विद्यालय गरि पाँच विद्यालयको नतिजा त शत प्रतिशत नै छ।
गत वर्षको तुलनामा यसपटक उच्च अंक ल्याउने विद्यार्थीको अनुपात समेत बढेको देखिन्छ। नतिजा अनुसार यस पटक तीन दशमलव छ देखि ४ जीपीए ल्याउनेको अनुपात २५० प्रतिशत रहेको महानगरले जनाएको छ।
महानगरबाट एसईईमा सहभागी मध्ये ५ सय ४५ जनाले तीन दशमलव छ देखि ४ जीपीए ल्याएर उत्तीर्ण भएका छन्।
पूरक परीक्षा दिने विद्यार्थीहरूका लागि भनेर महानगरले तयारी पनि सुरु गरिसकेको छ। विद्यार्थीको अनुकुलता र विषय हेरेर कक्षा संख्या बढाउने भन्दै ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा महानगरले सञ्चालन गरिरहेको छ।
कक्षा सञ्चालनका लागि गएको शुक्रबार शहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूसँग छुट्टा-छुट्टै तयारी बैठक समेत गरेका थिए।
महानगरको ५८ सामुदायिक विद्यालय एसईई परीक्षामा सहभागी भएको थियो।
एकनासको भक्तपुर
भक्तपुर नगरपालिकाबाट यसपटक १५ वटा सामुदायिक विद्यालयबाट ८ सय १९ विद्यार्थी सहभागी भएकोमा ५ सय ८० विद्यार्थी उत्तीर्ण भए। संस्थागत र सामुदायिक विद्यालय गरेर ८४ दशमलव २७ प्रतिशत नतिजा ल्याएको यस पालिकाले सामुदायिकको हकमा मात्र भने ७० दशमल ८२ प्रतिशत नतिजा निकाल्यो।
‘देशभर निराशाजनक नतिजा आएको बेलामा हाम्रो पालिकाको नतिजा उदाहरणीय हुन सक्छ,’ यहाँका एक कर्मचारीले भने, ‘हामीले विद्यालयहरूलाई राम्रो नतिजा आएन भने कारबाही गर्ने समेत भनेका थियौँ। त्यहि पनि हाम्रो नतिजा प्राय यस्तै आइरहन्छ।’
यहाँका सामुदायिक विद्यालयहरूमा अझै पनि ६० प्रतिशत स्थानीय विद्यार्थीहरू नै पढ्ने गर्छन्। यहाँका मेधा माध्यमिक विद्यालयको नतिजा शत प्रतिशत छ। ११५ जना विद्यार्थी सहभागी भएकोमा सबैले राम्रो अंक सहित एसईई उत्तीर्ण गरे।
प्रधानाध्यापक श्याम हाडा भन्छन्, ‘अरुमा जस्तो नतिजा आए पनि हाम्रोमा चैँ राम्रो आउँछ भन्ने सुन्दा खुसी लाग्छ। हाम्रो व्यवस्थापन टीम, शिक्षक, अभिभावक र विद्यार्थीको लगावविना यो सम्भव नै छैन। हामी धेरै खुसी छौँ। यसलाई निरन्तरता दिनु नै हाम्रो लक्ष्य हुनेछ।’
त्यस्तै यहाँका नगर शिक्षा शाखा प्रमुखले पनि यस पटकको नतिजाले झन् राम्रो गर्न प्रेरित गरेको बताए। शाखा प्रमुख साधुराम फुयाल भन्छन्, ‘हाम्रो प्रयास त सकेसम्म शत प्रतिशत उत्तीर्ण हुनुपर्छ भन्ने नै हो। तर, अझै हामीले गर्नुपर्ने छ। यति नतिजाबाट सन्तुष्ट भएर चैँ बस्दैनौँ।’
नगरपालिकाले ‘प्रि-एसईई’ भनेर नगरस्तरीय परीक्षा नै पनि सञ्चालन गर्ने गरेको छ। विद्यालय र विद्यार्थीको नतिजामा सकारात्मक प्रभाव पारेको भन्दै नगरपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
कमजोर ललितपुर
तीन पालिकाबीच तुलना गर्दा ललितपुर महानगरपालिकामा सबैभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन्। २५ वटा सामुदायिक विद्यालयबाट १३ सय १५ विद्यार्थी सहभागी भएकोमा यहाँबाट ७ सय २७ विद्यार्थी उत्तीर्ण भएका छन्। यो भनेको ५५ दशमलव २८ प्रतिशत हो।
यो नतिजालाई राम्रो पनि भन्न नमिल्ने नराम्रो पनि भन्न नमिल्ने यहाँका शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्री बताउँछन्। एनजी (नन ग्रेडेड) नीतिले गर्दा यति धेरै विद्यार्थीहरू अनुत्तीर्ण देखिएको उनको तर्क छ।
उनले भने, ‘यस अगाडि र अहिलेको परीक्षा नीति नै भिन्न छ। हामीले तुलना गर्नै मिल्दैन। अब यसपछि हुने नतिजासँग चैँ अहिलेको तुलना गर्दा ठिक होला।’
यहाँका सामुदायिक विद्यालयमा स्थानीय विद्यार्थीको उपस्थिति शून्य बराबर नै रहेको महानगरको भनाइ छ। यहाँका कुनै पनि सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सकेनन्।
असार २७, २०८१ बिहीबार ११:४४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।