रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनमा लेखा समितिको चासो, धितोपत्र बोर्डमाथि नै शंका

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनमा लेखा समितिको चासो, धितोपत्र बोर्डमाथि नै शंका

काठमाडौं : नेपाल धितोपत्र बोर्डमा पुगेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ स्थगित भएको छ।

रिलायन्सले धितोपत्र बोर्डमा बुझाएको वित्तीय विवरण नै गलत देखाएको भन्दै सार्वजनिक लेखा समितिमा कुरा उठेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन स्थगित गर्ने निर्णय गरेको हो।

रिलायन्सले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो।

लेखा समितिले बोर्डमाथि उठाउँदै गरेको प्रश्नमा भनिएको छ, ‘रिलायन्सको आधार मूल्य के आधारमा तय गरेको? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो?’

यसका साथै समितिले ‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको कम्पनीले उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ। यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने?’ भन्दै प्रश्न गरेको छ।

बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको विषयमा समेत बुभ्न चाहेको छ।

साथै संस्थागत लगानीकर्ताले कति मूल्य कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, उक्त विवरण पनि लेखाले माग गरेको छ भन्नेबारेमा धितोपत्र बोर्डको धारणा समेत माग गरेको छ।

यस विषयमा उकेराले नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीसँगलाई प्रश्न गर्दा उनले सात दिनभित्र बोर्डले अनुसन्धान गरी लेखामा पठाउने जवाफ दिए।

‘लेखाबाट जवाफ माग आएको छ, हामीले सात दिनभित्र जवाफ पठाउछौँ। साथै, कम्पनीले भने, बिजुली काटेकोले पनि लक्ष्य अनुरुपको काम गर्न नसकेको जवाफ दिएका थिए’, उनले भने।

उकेराले, धितोपत्र बोर्डले कुनै पनि कम्पनीको वित्तीय विवरणको जाँचपास माथि नै प्रश्न उठ्यो भन्ने प्रश्नमा अधिकारीले सुधार गर्दै लैजाने जवाफ दिए।

‘कुनै पनि कम्पनी आईपीओमा आइसकेपछि उनीहरूको वित्तीय स्थितिको बोर्डले भोटिङ्ग गर्छ। तर, यो घटनापछि बोर्डमाथि नै प्रश्न उठ्न सक्छ। त्यसको लागि हामीले सुधार गर्दै जान्छौँ’, उनले भने। 

असार २६, २०८१ बिहीबार ०९:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।