११ महिनामा देशको आर्थिक अवस्था : शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा, महंगी ४.१७ प्रतिशतले बढ्यो
काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा देशको शोधनान्तर र चालु खाता बचतमा रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार देशको आर्थिक अवस्था सबल देखिएको हो।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति (महंगी) जेठमा ४.१७ प्रतिशत थियो। खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.७६ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.४८ प्रतिशत रहेको राष्ट्रबैंकले जनाएको छ।
जेठ महिनामा चालु खाता २ खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ भने पुँजीगत ट्रान्सफर ५ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ।
यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ। यो अवधिसम्ममा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा छ।
चालू आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६२ हजार ७०५ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१ हजार ४४३ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भएको थियो।
२०८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेकोमा चालु आर्थिक वर्षको ११ महिना अवधिमा २७.८ प्रतिशतले वृद्धि भई चालु आर्थिक वर्ष (२०८१) को जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
असार २६, २०८१ बिहीबार ०८:५२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।