अष्ट्रियामा मोदीको विवादास्पद अभिव्यक्ति, ‘भारतले विश्वलाई युद्ध हैन, बुद्ध दिएको छ’

अष्ट्रियामा मोदीको विवादास्पद अभिव्यक्ति, ‘भारतले विश्वलाई युद्ध हैन, बुद्ध दिएको छ’

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुन: विवादास्पद अभिव्यक्ति दिएका छन्।

रुस भ्रमण सकेर अष्ट्रिया पुगेका भारतीय प्रधानमन्त्री मोदीले बुधबार भारतीय समुदायलाई सम्बोधन गर्दै भारतले विश्वलाई युद्ध होइन बुद्ध दिएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका हुन्।

उनले भने, ‘भारतले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ। शान्तिको सन्देश दिएको छ।’

मोदीले यस्तो अभिव्यक्ति दिएको यो पहिलो पटक हैन। उनले यसअघि पनि पटक-पटक बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए।

बुद्धको जन्म नेपालको लुम्बिनी प्रदेशको लुम्बिनीमा भएको हो।

यसका साथै उनले अर्थतन्त्र, राजनीति, नीति र अष्ट्रिया र भारतबीचको ऐतिहासिक सम्बन्धका बारेमा समेत कुराकानी गरेका थिए।

उनले भने, ‘भारत र अस्ट्रियाबीचको सम्बन्ध ऐतिहासिक छ। करिब २०० वर्षअघि भियना विश्वविद्यालयमा संस्कृतको अध्ययन सुरु भएको थियो।’

यस अवधिमा प्रधानमन्त्री मोदीले भारतको आम चुनावको पनि उल्लेख गरेका थिए।

गत जुनमा भएको भारतीय निर्वाचनको सन्दर्भमा उनले भने , ‘केही साताअघि भएको निर्वाचनमा ६५ करोड जनताले आफ्नो मताधिकार प्रयोग गरेका थिए। यति ठूलो निर्वाचनको परिणाम केही घण्टामै आउँछ।

उनले यसको श्रेय भारतको चुनावी संयन्त्र र भारतीय लोकतन्त्रलाई दिए।

उनले भने, ‘यस निर्वाचनमा सयौं राजनीतिक दलका आठ हजारभन्दा बढी उम्मेदवारले भाग लिएका थिए। यो तह र विविधताको निर्वाचनपछि जनताले जनादेश दिएका छन्।’

४१ वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले अष्ट्रियाको भ्रमण गरेका हुन्।

असार २६, २०८१ बिहीबार ०८:१९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।