सहकारी छानबिन समितिमा पीडितले उठाए गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने माग

सहकारी छानबिन समितिमा पीडितले उठाए गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने माग

काठमाडौं : संसदीय सहकारी छानबिन समितिले सहकारी क्षेत्रमा देखा परेका समस्यामा १५ भन्दा बढि श्रृंखलामा छलफल गरेको जनाएको छ। समितिले राष्ट्र बैंकका गभर्नर, वित्तीय क्षेत्रका नेतृत्वकर्ता तथा नेपाल प्रहरीको अनुसन्धान विभागसँग छलफल गरेको बतायो। 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा संयोजक सूर्य थापाले समिति पीडितहरूको कुरा सुन्ने र समस्याको बारेमा खोजीनिती गर्ने कुरामा अग्रसर हुने बताए। 

उनले भने, ‘यो संसदीय छानबिन समिति हो, यसले कुनै उच्चस्तरीय सिआइबीको जस्तो काम गर्दैन। सुरक्षाकर्मीको जस्तो काम गर्दैन तर, यो समितिले समस्या खोज्छ र पीडितहरूको कुरा सुन्छ।'

उनले सिंगो सहकारी क्षेत्र ठगीमा संलग्न नभएको पनि  जिकिर गरे।

उनले भने, ‘सिंगो सहकारी क्षेत्रमा यो समस्या छैन, हामीले सहकारी क्षेत्रका ठूला व्यक्तित्वसँग पनि छलफल गरिसकेका छौं। उहाँहरूले राखेको रायअनुसार यो ३१ हजार ३ सय ७३ सहकारीको समस्या होइन तर, यो केही मात्र सहकारीको समस्या हो।’ 

बुधबारको बैठकमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्।

उनीहरूले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गृहमन्त्री लामिछाने उपर पनि छानबिन आवश्यक रहेको बताए।  

असार २५, २०८१ बुधबार १९:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।