संसदीय दलमा प्रचण्डको ब्रिफिङ : ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएर’ ओलीले धोका दिए

संसदीय दलमा प्रचण्डको ब्रिफिङ : ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएर’ ओलीले धोका दिए

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन्।

माओवादी संसदीय दलको बैठकमा उनले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले-कांग्रेसबीचको समीक्षा गर्दै ओलीले आफूहरूलाई ढाँटेको बताए। ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको उनको दुखेको छ। 

‘असार १७ गते प्रचण्ड र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो। केपीजीले ३ जना नेता बसौँ भन्नुभयो। मैले केपीजी ३ जना बसौँ भन्दै हुनुहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो। ढाँट छल भयो।’

उनले राष्ट्रपतिलाई पनि नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न सहज बनाउने भन्दै प्रचण्डले २८ गते विश्वासको मत लिन लागेको बताए।

बैठकले प्रचण्डलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरेको छ। 

माओवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अन्य दल तथा स्वतन्त्र सांसदहरूसँग संवाद गर्ने तयारी गरेको जनाएको छ।  

असार २५, २०८१ बुधबार १७:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।