'रवि लामिछानेका कारण रास्वपा सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो'

'रवि लामिछानेका कारण रास्वपा सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा रविको क्लबमा परिणत भएको आरोप लगाएका छन्। 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछानेको गल्तीको दोष अरूलाई थोपर्ने क्रममा आफू पनि सिकार भएको बताए। 

उनले भने, ‘रविले पार्टीलाई क्लब जसरी चलाए। पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ, रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ। अनुशासन आयोगमाथि प्रश्न उठाइसकेको थिएँ मैले। त्यसैले उसले भनेको मान्नुपर्ने अवस्था थिएन।’

उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको जिकिर गरे। 

ढकालले भने, ‘म अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बित भएको छैन, म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो। म बलजफ्ती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन। तर, रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो।’

रवि लामिछानेले आफ्नो गल्ती सबै अरूमा थोपार्ने काम मात्र गर्दै आएको उनको आरोप छ। 

उनले भने, ‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे रविले गरेनन्। अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन, रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो। तर, उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो।’ 

असार २५, २०८१ बुधबार १६:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।