'रवि लामिछानेमाथि सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ'

'रवि लामिछानेमाथि सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेमाथि सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेका छन्।

आफूमाथि कारबाही गरिएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सर्वोच्च अदालतले नै अनुसन्धान गर भनेकाले पार्टीले पनि छानबिन समिति गठन गर्नुपर्ने बताए। 

'हिजो उहाँ (रवि लामिछाने)ले आफूले कुनै सहकारीबाट ऋण लिएको छैन र आफूविरुद्द जाहेरी पनि छैन भनिरहनुभएको थियो,' उनले भने, 'तर सर्वोच्च अदालतले उहाँमाथि गम्भीर प्रश्न उठाएको छ। त्यसकारण पार्टीबाट उच्चस्तरीय समिति बनाएर उहाँमाथि छानबिन गर्नुपर्छ।' 

सर्वोच्च अदालतका दुई न्यायाधीशबीच पनि छानबिन गर्ने विषयमा राय नबाझिएको भन्दै ढकालले सहकारी काण्ड र दोहोरो पासपोर्टमा पार्टीले पनि छानबिन गर्नुपर्ने बताए। रविसँग दुइवटा पासपोर्ट रहेको उनको आरोप छ। 

उनले देश बाढी-पहिरोको संकटमा भएका बेला गृहमन्त्री लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको बताए। लामिछाने पीडितको उद्धारमा खट्नको सट्टा महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक व्यस्त रहेको उनको भनाई छ। 

उनले भने, ‘देशमा बाढी-पहिरोको संकट छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ। उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन। उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ।’

असार २५, २०८१ बुधबार १६:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।