विदेशको पीआर लिएको भन्दै शिक्षामन्त्री सुमनालाई सतर्कता केन्द्रको पत्र, यस्तो छ सुमनाको जबाफ

विदेशको पीआर लिएको भन्दै शिक्षामन्त्री सुमनालाई सतर्कता केन्द्रको पत्र, यस्तो छ सुमनाको जबाफ

काठमाडौं : नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पत्र पठाएको छ।  

उनले सामाजिक सञ्जाल एक्समा एक भिडियो पोष्ट गर्दै केन्द्रबाट अत्यन्त जरुरी पत्र आएको भन्दै त्यसको जवाफमा आफू नेपाली नागरिक भएको जिकिर गरेकी छन्। आफूसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको उनको दाबी छ। 

नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेर आवश्यक अनुसन्धान गर्न भनेपछि सोही आधारमा केन्द्रले शिक्षामन्त्री श्रेष्ठलाई पत्राचार गरेर त्यसबारे जवाफ माग गरेको हो।

तर, त्यसको खण्डन गर्दै उनले उनले लेखेकी छन्, 'मैले २० वटा जति देश भ्रमण गरेको छु। कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर समेत लिएको छैन। लिने प्रक्रिया के हो त्यो समेत थाहा छैन।' 

उनी सन् २००३ मा अध्ययनका लागि नेपाल बाहिर गएकी थिइन्। अनि उनका श्रीमान् पोल्याण्डका नागरिक हुन्। 

तर, उनले कुनै विदेशीसँग बिहे गरेपछि पीआर पाउँछ भन्न नमिल्ने बताउँदै उनले विदेशीसँग बिहे गर्दैमा पीआर लिनुपर्छ भन्ने पनि नभएको बताइन्।

असार २५, २०८१ बुधबार १५:१७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।