एमाले उपमहासचिवको प्रश्न- ‘सरकारसँगै अझै दुई दिन छ त, फाइल खोल्न के ले रोक्यो?’

एमाले उपमहासचिवको प्रश्न- ‘सरकारसँगै अझै दुई दिन छ त, फाइल खोल्न के ले रोक्यो?’

काठमाडौं : एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिमा सधैँभरी स्टन्ट नचल्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नामै लिएर उपमहासचिव ज्ञवालीले राजनीतिमा सधैँभरी स्टन्ट नचल्ने टिप्पणी गरेका हुन्।

सरकारले फाइल खोल्न लागेपछि आत्तिएर एमाले र कांग्रेस मिल्न लागेको भन्ने आरोपको खण्डन गर्दै उनले सत्ताबाट बाहिरिनुपरेपछिको बहाना भएको बताए।

बुधबारको सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले भने, ‘प्रचण्ड १९ महिनादेखि सरकारमा हुनुहुन्छ, फाइल खोल्न कसले रोक्या थियो? रविजी पनि अघिल्लो चोटी दुई महिना र अहिले चार महिना सरकारमा हुनुहुन्छ। कसले रोक्या थियो? त्यसकारण यो एउटा स्टन्ट मात्र हो। सत्ताबाट बाहिरिनुपरेपछि एउटा न एउटा कुनै बहाना बनाउनुपर्ने भएकाले उहाँहरूले गर्नुभएको बहाना हो।’

सरकारसँग अझै दुई दिन बाँकी रहेको त्यो समयसम्म अझै पनि फाइल खोले हुन्छ भन्दै उनले खुला चुनौती समेत दिए।

‘अझै छ त दुई दिन, हामी त कुन दिन कुन फाइल पल्टिन्छ भन्दै टेलिभिजनको स्क्रिनमा आँखा च्यातेर बसेको बस्यै छौँ। यो सबै स्टन्ट मात्रै हो र राजनीतिमा सधैँभरी स्टन्ट चल्दैन।’

फरक प्रसङ्गमा उनले संविधान संशोधन गर्ने सन्दर्भमा एमाले र कांग्रेसबीच सहमति भए पनि अहिले नै के–के विषय संशोधन गर्ने भनेर तय भइनसकेको बताए।

उनले थपे, ‘सुशासन र राजनीतिक स्थायित्वका निम्ति यदि कतै संविधानका प्रावधानहरूमा समस्या छन् वा बाधक छन् भने त्यसमा केन्द्रीत रहेर संविधान संशोधन गर्छौँ। त्यसको डिलेटमा प्रवेश गरिसकेका छैनौँ।’

साथै उनले संविधानको धारा ७६(२) अनुसारकै नयाँ सरकार गठन हुने पनि बताए। केही माओवादीका नेताले विश्वासको मतपछि संविधानको अर्को धारा आकर्षित हुने बताइरहेका बेला उपमहासचि ज्ञवालीले यस्तो बताएका हुन्।

असार २५, २०८१ बुधबार १४:०४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।