गौतम गम्भीर साढे तीन वर्षका लागि भारतीय क्रिकेट टिमको प्रशिक्षक

गौतम गम्भीर साढे तीन वर्षका लागि भारतीय क्रिकेट टिमको प्रशिक्षक

एजेन्सी : भारतीय टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन्।

टी२० विश्वकपपछि राहुल द्रविडको कार्यकाल सकिएसँगै उनको स्थानमा गौतम गम्भीर आएका हुन्। बीसीसीआईका सचिव जय शाहले ट्वीटमार्फत यसको घोषणा गरेका हुन्।

भारतीय टोली सफलताको नयाँ उचाइमा पुगेका बेला ४२ वर्षीय गम्भीर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

गत महिना वेस्ट इन्डिजमा सम्पन्न टी२० विश्वकप जित्नुका साथै भारतीय टोलीले एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको थियो।

तर, भारतीय टोली अहिले परिवर्तनको चरणबाट गुज्रिरहेको छ। रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा अब टी२० फरम्याटमा रहने छैनन्। आगामी केही वर्षमा उनीहरूले अन्य फर्म्याटबाट पनि बिदा हुन सक्छन्।

यी तीन खेलाडीले टी२० विश्वकप जित्नेबित्तिकै सन्यासको घोषणा गरेका थिए। यी खेलाडीबाहेक मोहम्मद शामी र रविचन्द्रन अश्विनले पनि आगामी दिनमा विभिन्न फर्म्याटबाट सन्यास लिन सक्ने देखिएको छ।

बीसीसीआईले केही दिनअघि नयाँ प्रशिक्षकको नियुक्ति साढे तीन वर्षको अवधिका लागि गरिने बताएको थियो। यसको मतलब गम्भीर अब डिसेम्बर २०२७ सम्म भारतीय टोलीको कोच रहनेछ।

यस पदका लागि आवेदन दिने अन्तिम मिति २७ मे थियो। आईपीएलमा गम्भीर कोलकाता नाइट राइडर्स (केकेआर) को मेन्टर थिए। त्यस बेलादेखि नै बीसीसीआई गम्भीरसँग यो पदलाई लिएर निरन्तर छलफलमा थियो।

असार २५, २०८१ बुधबार १३:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।