सामसङका ३० हजार कर्मचारीद्वारा अनिश्चितकालीन हडताल घोषणा

सामसङका ३० हजार कर्मचारीद्वारा अनिश्चितकालीन हडताल घोषणा

एजेन्सी : अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको दक्षिण कोरियाको कारखानाका ३० हजार मजदुरले मंगलबार अनिश्चितकालीन हडताल गरेका छन्।

तलब र अन्य सुविधा वृद्धिको माग गर्दै युनियनले ५५ वर्षमा पहिलो पटक हड्तालको घोषणा गरेका हुन्।

नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले तीन दिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो।

व्यवस्थापन आफ्ना माग सुनुवाई गर्न तयार नभएपछि हडतालजस्तो अप्रिय निर्णय लिन बाध्य भएको युनियनले जनाएको छ। सामसुङले तत्काल यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ।’

एनएसईयूले दक्षिण कोरियामा सामसङ इलेक्ट्रोनिक्स कामदारहरूको एक चौथाई प्रतिनिधित्व गर्दछ। युनियनले हडतालले उत्पादन अवरुद्ध भएको जनाएको छ।

यद्यपि कम्पनीले यो दाबीलाई अस्वीकार गरेको छ।

‘हाम्रो विचारमा, उत्पादनमा कुनै अवरोध हुने छैन’, फिबोनाची सम्पत्ति व्यवस्थापन ग्लोबलका जुंग इन युनले भने।

गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो। कम्पनीको करिब ५५ वर्षको इतिहासमा हडताल भएको यो पहिलो पटक हो।

सामसङ इलेक्ट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हो।

हडतालपछि कोरिया स्टक एक्सचेन्जमा सामसुङको सेयरमा गिरावट आएको छ।

असार २५, २०८१ बुधबार ११:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।