एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने

काठमाडौं : एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ्ग मिल लिमिटेडबीच असार २४ गते विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फण्ड हो।

सम्झौतामा एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमूख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे तथा जगदम्बा स्पिनिङ्ग मिल लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका हुन्।

सन् २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड नेपालको प्रिमियर धागो उत्पादक कम्पनी हो। यस कम्पनीले विशेष गरेर पोलिस्टर, पोलिस्टर भिस्कोज मिश्रित र एक्रिलिक धागो उत्पादन गर्दछ। कम्पनीको रुपन्देही, कमहरियास्थित कारखाना विष्णु न्यौपानेको नेतृत्वमा रहेको सौरभ ग्रुपको एक हिस्सा हो।

जगदम्बा स्पिनिङ्ग मिल्सले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरका सामानहरू उत्पादन गर्दै विश्वभर निर्यात गर्दै आएको छ। यस लगानीले जगदम्बा स्पिनिङ्ग मिल्सलाई उत्कृष्ट धागो उत्पादकको रूपमा स्थापित गर्न र नाफा बढाउन मद्दत गर्नेछ।

जगदम्बा स्पिनिङ्ग मिल्सले निकट भविष्यमा आईपीओ ल्याउने योजना बनाएको छ जसले गर्दा कम्पनीको क्षमता ४० प्रतिशतले विस्तार गर्न सकिनेछ।

हस्ताक्षर कार्यक्रममा बोल्दै एनआईएमबी एस क्यापिटलका प्रमूख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले जगदम्बा स्पिनिङ्ग मिलसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको बताए।

‘हामी नेपालको अर्थतन्त्रलाई बढावा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध छौँ,’ उनले भने, ‘हामीलाई विश्वास छ कि नेपालमा जगदम्बा स्पिनिङ्ग मिल्सजस्तो अझ धेरै संस्थाहरुको आवश्यकता छ।’

त्यस्तै, जगदम्बा स्पिनिङ्ग मिल लिमिटेडका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले एनआईएमबी एस क्यापिटल र यसको प्राइभेट इक्विटी फण्ड एनआईबीएल इक्विटी पार्टनर्स जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा खुसी भएको बताए।

‘जेएसएम नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा छ र दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने योजनामा छ,’ उनले भने, ‘जेएसएम ले सधैं उच्च–गुणस्तरको धागो उत्पादन, उन्नत प्रविधि र दिगो अभ्यासहरूमा ध्यान केन्द्रित गरेको छ।’

जेएसएमले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता रहेको छ। यसको उत्पादनको लगभग ९५ प्रतिशत मुख्यतया भारतीय बजारमा निर्यात गरिन्छ। 

असार २५, २०८१ बुधबार ०९:००:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।