कफीको हव गुल्मीमा विरुवा रोप्न अनुदानै अनुदान, समस्या परेर बोलाउँदा आउँदैनन् प्राविधिक

कफीको हव गुल्मीमा विरुवा रोप्न अनुदानै अनुदान, समस्या परेर बोलाउँदा आउँदैनन् प्राविधिक

बुटवल : पछिल्लो समय गुल्मीमा कफी उत्पादनमा वृद्धि हुँदै गएको छ। ठूला बगैँचा नभए पनि छरिएको क्षेत्रमा भएको खेतीले जिल्लाबाट हुने समग्र कफी उत्पादनमा वृद्धि आएको हो।

जिल्लाको मुसिकोट नगरपालिका र रुरु गाउँपालिकाका सबैभन्दा धेरै क्षेत्रमा कफी लगाइएको छ। त्यस बाहेक मालिका, मदाने, इश्मा, धुर्कोट, रेसुङ्गा, गुल्मी दरबार, छत्रकोट, सत्यवती, चन्द्रकोट र कालिगण्डकीमा समेत कफी खेती हुँदै आएको छ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पछिल्लो पाँच वर्षयता जिल्लामा कफी उत्पादन क्रमशः वृद्धि हुँदै गएको बताए। अन्न बालीको तुलनामा बढी लाभ हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको उनको भनाइ छ।

आर्थिक वर्ष ०७६/०७७ मा १५२ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएकोमा चालु आर्थिक वर्षसम्म २५० हेक्टरमा कफी खेती गरिँदै आएको छ। चालु आर्थिक वर्षमा ३५ टन कफी उत्पादन हुने र १ करोडको निर्यात हुने कृषि ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ।

उत्पादित कफीमध्ये १० टन ग्रिनविन मात्र तेस्रो मुलुकमा निर्यात हुने केन्द्रका प्रमुख भण्डारी बताउँछन्। हाल जिल्लामा ७० बढी कफी उत्पादक समूहमा १ हजार ९६५ कृषकहरू आवद्ध भई कफी खेती गरिरहेका छन्।

रोप्न अनुदानै अनुदान
नेपालमा वि.सं. १९९५ सालतिर गुल्मी आँपचौरका हिरा गिरीले बर्मा (म्यानमार)बाट बिउ ल्याई आँपचौरमा रोपेर कफी खेती सुरू गरेका थिए। कफी खेती आज ४० भन्दा बढी जिल्लामा पुगिसकेको छ। बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका मध्य पहाडी २३ जिल्लामा यसले व्यावसायिक रूप लिइसकेको छ।

लगाएको तीन वर्षपछि मात्र उत्पादन दिन थाल्छ कफीले। विरुवा उस्तै कठिन पनि छ। विरुवा रोषणमा सरकारी निकायले सहयोग गरे पनि त्यसपछि आइपर्ने समस्या समाधानमा आधारित कार्यक्रम नगरेको किसानको गुनासो छ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले भने, ‘कफीको बिरुवा रोपणमा मात्र सबैको जोड देखियो। त्यसपछि कमजोर व्यवस्थापन छ।’

विगतका वर्षहरूको तुलनामा उत्पादन बढे पनि किसानहरूले परम्परागत तरिकाबाटै खेती गर्दा सोचे अनुरुप उत्पादन बढाउन नसकिएको भण्डारीको भनाइ छ। कफी खेती गर्दा छहारीको व्यवस्थापन गरेर बगैँचा निर्माण गर्न सके मात्रै पनि उत्पादन बढाउन सकिने उनी बताउँछन्।

त्यस बाहेक सरकारले गर्ने सहयोगको शैलीमा पनि परिर्वतन गर्नुपर्ने उनको राय छ।

‘बोट लगाउन मात्र अनुदान दिने हैन, लगाइ सकेपछि पनि कृषकहरूको मागमा आधारित रहेर कार्यक्रम तर्जुमा गरेमा कृषकहरू अझै धेरै कफी खेतीतर्फ आर्कषित हुन्छन्’, उनी भन्छन्।

साथै उनले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नुपर्नेमासमेत जोड दिए।

नेपालको जलवायु एवं माटोमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उच्च गुणस्तरको कफी उत्पादन हुनसक्ने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेर ठूलो परिणाममा विदेश निर्यात गर्ने गरी किसान लक्षित योजना ल्याउनुपर्ने किसान बताउँछन्।

‘विरुवा मात्र दिएर भएन। यसमा रोग लाग्दा पहिचान हुनुपर्छ। प्राविधिकहरूलाई तत्काल फिल्डमा पठाउन सकेमा मात्र यो खेती सफल हुन्छ। तर, यहाँ कसैले फर्केर नहेर्दा कतिपय किसान त यो खेती छाडेर अरु रोज्न थालेका छन्’, गुल्मीको मालिका गाउँपालिका-६ का कृषक देविराम गौतमले बताए।

उनले कृषक वर्गमा कफी खेतीको प्राविधिक एवं आर्थिक चेतना बढाएमा मात्र कफी खेतीमा किसानहरूको आकर्षण बढ्ने बताए।

मदाने गाउँपालिका-३ सिर्सेनीस्थित तोरेटाका कृषक मेघलाल अर्याल कफी खेतीबाट राम्रो आम्दानी भएको बताउँछन्। यद्यपि प्राविधिक ज्ञानको कमीका कारण सोचे अनुरुप अझै नहुन नसकेको उनको भनाइ छ।

बोलाउँदा पनि आउँदैनन् प्राविधिक
कफीमा रोग लागे पनि प्राविधिकहरू समयमा नआउँदा किसानले क्षति व्यहोर्नुपरेको अर्याल बताउँछन्।

‘यहि वर्ष मात्र उत्पादन दिने बेला भएका तीन वर्षअघि लगाएका १० वटा कफीको बोट मरेर गए। तर किन बोट सुकेर मर्यो भनेर कोही प्राविधिक आएनन्’, उनले भने।

परम्परागत रूपमा कफी खेती गर्दै आएका अर्यालले पाँच वर्षदेखि नर्सरी नै बनाएर व्यावसायिक कफी खेती गर्दै आएका छन्। उनले १० रोपनी क्षेत्रफलमा १ हजार भन्दा बढी कफीका बोट लगाएको बताए।

परम्परागत खेतीबाट बादर, बँदेल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आएपछि सबै बारीमा कफीका बोट लगाएको उनको भनाइ छ।

सिर्सेनीका कृषकले समूह मार्फत गाउँमा तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेर कफी उत्पादन गरिरहेका छन्। समूहमा २१ घरधुरी छन्। उक्त समूहले अघिल्लो वर्ष मात्र साढे ३ क्विन्टल कफी उत्पादन गरेको उनले बताए।

मदानेमै प्रेम अर्यालले पनि व्यावसायिक कफी खेती गर्दै आएका छन्। उनले ६ सय बढि विरुवा कफीका लगाएका छन्।

कफी विकास केन्द्र गुल्मीका कार्यालय प्रमुख जीवन आचार्यले कार्यालयले किसानहरूलाई बिउ, बेर्ना उपलब्ध गराउने गरेको बताए।

‘हामीले नीजि नर्सरीलाई समेत बेर्ना दिन्छौँ। पालिका स्तरका कृषि प्राविधिकहरूलाई तालिम दिन्छौँ। गुणस्तरिय बिउ हामी किसानलाई दिन्छौँ। अहिले यसतर्फ किसानहरू बढी आकर्षित भएका छन्’, उनले भने।

यस वर्ष मात्र स्याङजा, धादिङ, गुल्मी, अर्घाखाँची, बागलुङ, पाल्पा लगाएका जिल्लामा ४५ हजार बेर्ना वितरण गर्नुका साथै एक क्विन्टल बिउ पनि बिक्री गरिएको कार्यालय प्रमुख आचार्यले बताए।

समुद्र सतहदेखि ८०० देखि १६०० मिटरसम्म अराबिका कफी खेती राम्रो हुन्छ। नेपालमा पाइने सबै कफी १ हजारदेखि १ हजार ६ सय मिटरसम्मको उचाइमा उत्पादित अराविका वर्णको टिपिका र बर्बन जातका हुन्।

कफी खेतीबाट कोदो भन्दा ६ गुणा बढी आम्दानी गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ। एक रोपनी जमिनमा कम्तिमा १०० कफी बोट लगाउन सकिन्छ। सरदर प्रति बोट ३ के.जी. ताजा फल उत्पादन हुन्छ।

नेपाल सरकारले कफीलाई विशेष महत्व दिई वि.सं. २०६२ सालदेखि प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कफी दिवस मनाउने गरेको छ। नेपालमा प्रति वर्ष १२ करोड भन्दा बढी रुपैयाँको कफी आयात हुन्छ।

असार २६, २०८१ बुधबार ०८:४१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।