स्पेन युरो कपको फाइनलमा, फ्रान्स २-१ ले पराजित

काठमाडौं : स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ।
जर्मनीको म्युनिख रंगशालामा मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २-१ गोल अन्तरको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
खेलमा सुरुवाती अग्रता फ्रान्सले बनाए पनि टिकाउन भने सकेन। खेलको आठौं मिनेटमा कोलो मुआनीले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए।
तर, २१औं मिनेटमा अल्भारो मोराटाको पासमा १६ वर्षीय खेलाडी लामिन यमलले गोल गर्दै खेल एक-एकको बराबरीमा ल्याए।
त्यसको चार मिनेटपछि २५औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २-१ को अग्रता लिएको थियो।
त्यसपछि दुवै टिमले थप गोल गर्न नसकेपछि २-१ को अग्रता कायम गर्दै स्पेनले फाइनलमा स्थान पक्का गरेको हो।
स्पेनले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल आज राति पौने १ बजे हुनेछ।
असार २६, २०८१ बुधबार ०७:२५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।