आफ्नो लागि घर ज्वाइँ खोज्दै अभिनेत्री मिरुना

आफ्नो लागि घर ज्वाइँ खोज्दै अभिनेत्री मिरुना

काठमाडौँ : फिल्म चलाउने फन्डा हैन भने अभिनेत्री मिरुना घर ज्वाइँ बस्न राजी हुने जीवन साथीको खोजीमा छिन्। यो उनैले भनेको त हो तर यो उनको फन्डा हैन भनेर ठोकुवा गर्न सकिन्न। किनकि उनी फिल्म घर ज्वाइँकै प्रमोसनमा छिन् अहिले।

फिल्म चलाउन पर्दै नपरेको प्रेमदेखि हुँदै नभएको डिभोर्ससम्मको हल्ला नियोजित रूपमा फैलिने फिल्मी दुनियाँमा मिरुनाले फिल्मको प्रिमियरमा भनेको कुरा सत्य नै हो कसरी भन्नु। तै पनि उनले भनिन्'यो मुभी गरेदेखि त घर ज्वाइँ बस्ने मान्छे भए त मेरो लागि झनै पर्फेक्ट। मेरो परिवारसँगै बस्न पाउने थिएँ। त्यसकारण पनि घर ज्वाइँ बस्ने मान्छे नै खोजिरहेको छु।’

खै के पत्याउनु! तै पनि मिरुनाका लागि घर ज्वाइँ बस्न राजी कोही भए अप्रोच गर्ने कि! आगामी शुक्रवार रिलिज हुने फिल्म घर ज्वाइँबाट दयाहाङ राईले निकै अपेक्षा गरेका रहेछन्। उनले फिल्म राम्रो बनेको दाबी समेत गरे।

पछिल्लो समय दयाहाङ र मिरुनालाई लिएर निर्माताहरू जातीगत विषयमा केन्द्रित फिल्म बनाइरहेका छन्। अनि फिल्मको प्रिमियरमा पनि जातीय रौनक निर्माणको प्रयास गर्छ। कहिले गुरुङ, कहिले राई।  फिल्मी बिजनेसमा यो आइडिया फापेको पनि छ।
यस पटक मगर समुदायको कथामा फिल्म बनेको छ घर ज्वाइँ। हल बाहिर मगर समुदायको नाच चलिरहेको थियो।

यस अगाडि दयाहाङ राई र मिरुना मगरको  जोडिएको अभिनय रहेको राई समुदायका केन्द्रित कथाको फिल्म पनि चल्यो, गुरुङ समुदायमा आधारित कथाको फिल्म पनि चल्यो। अब मगर समुदायको कथामा आधारित फिल्म पनि चल्ला त!

असार २५, २०८१ बुधबार ००:२४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।