जब हृदयाघात हुन्छ, तब मस्तिष्क मर्छ कि झन् सक्रिय हुन्छ?

जब हृदयाघात हुन्छ, तब मस्तिष्क मर्छ कि झन् सक्रिय हुन्छ?

बिबिसी : न्युरोसाइन्टिस्ट हिमो बोरहिईन त्यतिबेला आश्चर्यचकित भइन्, जब उनले जब कसैको मृत्यु हुन्छ उसको दिमागमा के भइरहेको हुन्छ भन्ने कसैलाई जानकारी नभएको थाहा पाइन्।

डा. हिमो बोरहिईन अमेरिकाको मिसिगन विश्वविद्यालयमा मोलिक्युलर मण्ड इन्टेरोगेटिभ फिजियोलोजी र न्युरोलोजी विभागमा एसोसिएट प्रोफेसर हुन्।

त्यो बेलामा उनी शल्यक्रिया पछि दिमागबाट हुने रसायनको उत्पादनबारे मुसाहरूमा प्रयोग गरिरहेकी थिइन्। परीक्षणमा अचानक तिनीहरूमध्ये दुईवटा मुसाको मृत्यु भयो। यसले हिमोलाई ती मुसाहरूको दिमागमा मृत्युको प्रक्रियालाई नजिकबाट हेर्ने मौका मिल्यो।

‘तिनीहरूमध्ये एउटा मुसाको मस्तिष्कबाट सेरोटोनिन नामक रसायनको ठुलो मात्रामा बहाव भयो। त्यसले त्यो मुसा भ्रमको सिकार थियो भन्ने मेरो मनमा प्रश्न उठ्यो।’

सेरोटोनिनको सम्बन्ध भ्रम वा ह्यालुसिनेसनसँग हुने भएकाले उनको मनमा यो जिज्ञासा आएको थियो। सेरोटोनिन जीवहरूको मनोदशालाई नियन्त्रण गर्ने रसायन हो। त्यस मुसाको दिमागमा सेरोटोनिनको बाढी देखेपछि हिमोको दिमागमा धेरै प्रश्नहरू उठे।

त्यसपछि हिमोले यसबारे पहिले नै भएको जानकारीहरूबारे अनुसन्धान गर्न थालिन्। हिमोलाई लाग्यो, सेरोटोनिनको बहावको पछाडि कुनै कारण हुनुपर्छ। मुसाहरूको मृत्युमा अनुसन्धान गर्दै गर्दा हिमोले जब मानिसको मृत्यु हुन्छ तब दिमागमा के के हुन्छ भन्ने अनुसन्धान सुरु गरिन्।

उनले अनुसन्धानको क्रममा जे जानकारी पाइन्, त्यो मृत्युको बारेमा अहिलेको हाम्रो बुझाइ र ज्ञानबारे बिलकुल विपरीत देखियो।

मृत्युको परिभाषा

यदि हृदयाघात भएपछि कसैको नाडी नभेटिएमा, उनीहरूलाई चिकित्सकीय दृष्टिकोणबाट मृत मानिने लामो समयदेखि मानिँदै आएको छ। यस प्रक्रियामा बढी जोड मुटुमा हुन्छ। यसलाई हृदयघात भनिन्छ, मस्तिष्कघात भनिँदैन।

वैज्ञानिकहरूको बुझाइमा ह्दयघातपछि दिमागमा कुनै काम भइरहेको छैन हुन्न, किनभने त्यसबाट कुनै प्रतिक्रिया आउँदैन भन्ने सोच देखिन्छ। मर्दै गरेका मानिसहरू न त कुरा गर्न सक्छन्, न उभिन सक्छन्। न त उनीहरू उठेर बस्न सक्छन्।

हाम्रो मष्तिष्कलाई काम गर्न धेरै अक्सिजन चाहिन्छ। यदि हाम्रो मुटुले रगत पम्प गरेन भने मष्तिष्कमा अक्सिजन पुग्दैन। हिमोको व्याख्यामा सतही रूपमा सबै लक्षणहरूले दिमाग काम गरिरहेको छैन वा यो निष्क्रिय छ भन्ने देखाए पनि उनको टोलीको अनुसन्धानबाट फरक देखियो।

मस्तिष्क 'धेरै तीव्र गतिमा दौडिरहेको' हुन्छ

सन् २०१३ मा मुसाहरूमा गरिएको अध्ययनमा मुसाहरूको मुटुले काम गर्न बन्द गर्दा तिनीहरूको दिमागका धेरै न्युरोनहरूमा जबरजस्त गतिविधिहरू देखिए।

‘मरेका मुसाहरूको दिमागमा सेरोटोनिनको बहाव ६० गुणा बढेको थियो र राम्रो महसुस गराउने रसायन डोपामाइनको बहाव ४० देखि ६० गुणासम्म वृद्धि भएको थियो। जीवहरूलाई धेरै सतर्क बनाउने रसायन नोरेपिनेफ्रिनको मात्रा १०० गुणासम्म बढेको थियो'उनले भनिन्।

जब कुनै जनावर जीवित हुन्छ, तब उसको मष्तिष्कमा यी रसायनहरूको यति धेरै मात्रा हुनु लगभग असम्भव हुन्छ।

सन् २०१५ मा उनको टोलीले मर्दै गरेका मुसाहरूको दिमागमा गरिएको अर्को अध्ययनको नतिजा प्रकाशित गरे। दुवै मामलामा एक सय प्रतिशत जनावरहरूको मष्तिष्कमा जबरजस्त गतिविधिहरू भएको रेकर्ड गरियो। दिमाग धेरै तीव्र गतिमा दौडिरहेको थियो। मृत्युको समयमा दिमाग अत्यन्त सक्रिय थियो।

गामा तरङ्गहरू

सन् २०२३ मा रिमा र उनको टोलीले अर्को अनुसन्धान पत्र प्रकाशित गरे। यो अनुसन्धान चार यस्ता मानिसहरूमा गरिएको थियो, जो कोमामा थिए र उनीहरूको मुटुको धड्कन लाइफ सपोर्ट सिस्टमको भरमा चलिरहेको थियो।

यी बिरामीहरूलाई इलेक्ट्रोएन्सेफालोग्राफीका इलेक्ट्रोड वा प्लेटहरू लगाइएको थियो, ताकि उनीहरूको मष्तिष्कका गतिविधिहरूलाई रेकर्ड गर्न सकियोस्।

यी चारैजना मर्दै थिए। डाक्टर र उनीहरूका परिवारका सदस्यहरूले मिलेर 'यी चारै जनालाई अब कुनै प्रकारको मद्दतले बचाउन सकिँदैन, त्यसैले अब उनीहरूको ज्यान बचाउने प्रयास छोड्नुपर्छ' भन्ने निर्णय गरे।

आफन्तहरूको अनुमतिले भेन्टिलेटर हटाइए। यस्तो अवस्थामा अनुसन्धानकर्ताहरूले दुई बिरामीहरूको दिमागमा निकै तीव्र गतिविधिहरू भइरहेको देखे। यसले दिमागमा समझदारीपूर्ण गतिविधिहरूको संकेत दियो।

उनीहरूको मष्तिष्कमा गामा तरङ्गहरू पनि रेकर्ड गरिएको थियो। यिनलाई दिमागका सबैभन्दा तीव्र तरङ्गहरू भनिन्छ। गामा वेभ्स, मानव मष्तिष्कमा जानकारी र स्मृतिलाई बुझ्ने अत्यन्त जटिल प्रक्रियाको हिस्सा हुन्।

अर्को एक बिरामीको मष्तिष्कको निगरानीको क्रममा, उनको दिमागको टेम्पोरल लोब अर्थात् दुवै कानको पछाडि रहेको मष्तिष्कको भागमा निकै तीव्र गतिविधि भएको देखियो। मानव मष्तिष्कको दाहिने कानको पछाडि हुने मष्तिष्कको भागलाई सहानुभूतिको लागि धेरै महत्त्वपूर्ण मानिन्छ।

‘धेरै बिरामीहरू जो हृदयघात भएपछि बाँच्छन् र जो मानिसहरू मृत्युको धेरै नजिक पुगेर फर्केका हुन्छन् उनीहरू भन्छन् कि त्यस अनुभवले उनीहरूलाई राम्रो मानिस बनायो र अब उनीहरू अरूप्रति बढी सहानुभूति महसुस गर्न थालेका छन्' उनले भनिन्।

मृत्युको अत्यन्त नजिक पुग्ने अनुभव

केही मानिसहरू जो मृत्युको मुखमा पुगेर फर्केका छन्, उनीहरूको आँखामा पूरै जीवनको तस्बिर घुमेको थियो, वा उनीहरूलाई जीवनका अत्यन्त महत्त्वपूर्ण क्षणहरू त्यस बेला याद आएको बताउने गर्छन्।

धेरै मानिसहरू उनीहरूले धेरै तीव्र प्रकाश देखेको पनि बताउँछन्। कसैले भने आफ्नो शरीरबाट बाहिर निस्किएर टाढा उभिएर सबै कुरा हेरिरहेको अनुभव भएको समेत बताएका छन्।

डा. हिमोले आफ्नो अध्ययनहरूमा दिमागको अत्यधिक सक्रियता, हाइपर एक्टिभिटी देखिन्। मृत्युको मुखमा उभिएका मानिसहरूलाई त्यही कारणले यस्ता शक्तिशाली अनुभवहरू भएका थिए त भन्ने प्रश्न उब्जियो।

डा. हिमो भन्छिन्, 'हो। मलाई त त्यस्तै लाग्छ।'

‘हृदयघातको सिकार भएका कम्तीमा २० देखि २५ प्रतिशत मानिसहरूले उनीहरूले सेतो प्रकाश देखेको, केही अनौठो देखिएको बताए। स्पष्ट छ कि उनीहरूको दिमागमा तस्बिर बनाउने भाग सक्रिय भएको थियो’ उनले भनिन्।

भेन्टिलेटर हटाइएपछि दुई बिरामीहरूको दिमागमा अत्यन्त तीव्र गतिविधिहरू देखिएका थिए, ती बिरामीहरूको मष्तिष्कको भिजुअल कोर्टेक्स (जुन हेर्ने बुझाइमा मद्दत गर्छ) मा निकै तीव्र गतिविधि देखिएको अनुसन्धानकर्ताहरूको भनाइ छ।

यसको अर्थ हो, 'उनीहरूले यस प्रकार केही देख्ने अनुभव गरेका हुनुपर्छ।'

डा. हिमो बोरहिईन जब कुनै मानिस मर्दै हुन्छ, तब उसको मष्तिष्कमा के चलिरहेको हुन्छ भन्ने जानकारी पाउन अझै धेरै अनुसन्धान गर्नु पर्ने आवश्यकता रहेको  बताउँछिन्।

यद्यपि, यस बारेमा दस वर्षभन्दा बढी अनुसन्धान गरेपछि, डा. हिमो जब हृदयघात हुन्छ, तब मस्तिष्क शान्त हुँदैन, बरु यो अत्यन्त सक्रिय हुन्छ भन्ने निष्कर्षमा पुगेकी छिन्।

अब उनको चासो हो, जब दिमागलाई आफ्नो काम गर्न आवश्यक अक्सिजन प्राप्त भइरहेको छैन भन्ने जानकारी हुन्छ तब उसले के गर्छ भन्नेमा देखियो।

‘अहिलेसम्म जब मुटुले काम गर्न बन्द गर्छ, तब दिमाग शान्त हुन्छ र दर्शक बनेर सबै कुरा हेरिरहन्छ भन्ने मान्यता थियो। अर्थात् जब मुटुले काम गर्न बन्द गर्छ, तब दिमाग बन्द हुन्छ भन्ने मानिन्थ्यो। अहिले पनि मानिसहरू यही मान्छन्, किनभने दिमाग यस्तो अवस्थासँग सामना गर्न सक्दैन र मर्छ’ उनले भनिन्।

तर उनी कि यस्तै हुन्छ, वा केही अरू भन्नेबारे केही जानकारी नभएको बताउँछिन्। उनी दिमागले सजिलै हार नमानी हरेक कठिन परिस्थितिसँग लड्ने भएकाले मृत्युको समयमा पनि उसले त्यस्तै गरिरहेको हुने उनको मान्यता छ।

‘मलाई लाग्छ कि अक्सिजनको कमीको चुनौतीसँग जुध्न मष्तिष्कमा क्षमता छ। तर, अहिले यसको थप अनुसन्धान गर्नु आवश्यक छ' उनले भनिन्।

अझै धेरै कुरा खोज्न बाँकी छ

डा. हिमो बोरहिईनलाई लाग्छ उनले आफ्नो टोलीसँग मिलेर जुन जानकारी खोजेकी छिन्, त्यो एउटा परालको झुप्पो जस्तो मात्र छ र अझै जानकारीको विशाल थुप्रोको पत्ता लगाउन बाँकी छ।

दिमाग भित्र अक्सिजनको कमीसँग सामना गर्ने कुनै व्यवस्था रहेको र त्यसलाई चिकित्सकहरूले बुझ्न नसकेको उनको मत छ। यस्तो अवस्थामा सतही रूपमा जसको मुटुले काम गर्न बन्द गर्छ उनीहरूलाई अनौठो र फरक फरक किसिमको अनुभव हुने गरेको उनको धारणा देखियो।

अब प्रश्न यो छ कि मर्दै गरेको मष्तिष्कमा किन यति धेरै गतिविधिहरू हुन्छन्?

उनी भन्छिन्, ‘हामी सबैले मिलेर यस बारेमा आफ्नो बुझाइ बलियो बनाउनु पर्छ। हामी यसको अध्ययन गरौँ। यसमा अनुसन्धान गरौँ, ताकि यी प्रश्नहरूको उत्तर खोज्न सकौँ। किनभने, हामीले करोडौँ मानिसहरूलाई उनीहरूको वास्तविक मृत्युभन्दा पहिले नै मरेको मानिरहेको हुन सक्छौ। किनभने हामीलाई मृत्युको पूरै प्रक्रियाबारे ठिक बुझाइको अभाव छ।'

असार २५, २०८१ मंगलबार १७:३६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।