मधेशमा कांग्रेस-एमाले गठबन्धन बनेपछि नयाँ सरकार बनाउन सकस

मधेशमा कांग्रेस-एमाले गठबन्धन बनेपछि नयाँ सरकार बनाउन सकस

जनकपुरधाम : मधेश प्रदेशमा कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ-आफ्नो अडान राखेपछि नयाँ गठबन्धनमा सकस देखिएको छ। 

केन्द्रीय राजनीतिमा एमाले-कांग्रेसको सत्ता सहकार्यको सहमति भएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू भयो। सोही निर्णयको आधारमा मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत प्राप्त गरिसकेका छन्। 

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको थियो। 

जनमत, कांग्रेस, एमाले र लोसपा मिलेर मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि सो अनुसार तयारी थलिएको हो। तर, मन्त्रालय बाँडफाँटमा कांग्रेस र लोसपाको अडानले मुख्यमन्त्री सिंह सकसमा परे।

कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले अर्थ सहितको चार वटा मन्त्रालय आफूहरुले पाउने सहमति भएको र सोही अनुसार अगाडि बढ्नुपर्ने बताएका छन्। 

यता, कांग्रेस संसदीय दलको बैठकले चार वटा मन्त्रालय मिल्यो भन्दै मन्त्रीहरुको नामसमेत टुंगो लगाएको जनाएको छ। नेपाली कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने आन्तरिक निर्णय गरिसकेको स्रोतले बताएको छ। 
 
स्रोतका अनुसार कांग्रेसले क्षेत्रीको नेतृत्वमा चार जनालाई सरकारमा पठाउने तयारी गरेको छ। तर, मन्त्रालयको संख्या र नाम यकिन नभएको हुनाले अहिले पनि दलहरू एक आपसमा छलफलकै क्रममा रहेको बुझिएको छ।

लोसपाले आफूहरुले दुई वटा मन्त्रालय पाउनु पर्ने अडान लिएपछि शनिबार नै भनिएको सपथग्रहण कार्यक्रम अझै हुन सकेन। गृह तथा सञ्चारसहित लोसपाले दुई वटा मन्त्रालयको दाबी गर्दै आएको छ। 

मुख्यमन्त्री सिंहले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी थालेको बुझिएको छ।

असार २४, २०८१ मंगलबार ०९:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।