महामन्त्री ढकालको कारबाहीबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

महामन्त्री ढकालको कारबाहीबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। बिहान ८ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।  

बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने बताइएको छ। 

पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ। त्यसबारे सचिवालय बैठकमा छलफल हुनेछ। 

समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएकोबारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो।  त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन्।

त्यसपछि यस अगाडिको बैठकले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गर्दै उनीबारे थप अनुसन्धान गर्ने जिम्मेवारी अनुसन्धान समितिलाई दिएको थियो। 

केन्द्रीय समितिको बैठक लाइभ गर्ने माग सम्बोधन नभएपछि बैठकमा मास्क र कालो टेप टाँसेर सहभागी भएका उनले अनुशासनहीनता व्यवहार गरेको भन्दै एक साता निलम्बनको निर्णय गरेको थियो।

असार २४, २०८१ मंगलबार ०८:४९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।