कान्तिपुरले हटायो 'इट्स माई शो'को विवादित क्लिप, अबदेखि यस्तो नगर्ने ओसिनको बाचा

कान्तिपुरले हटायो 'इट्स माई शो'को विवादित क्लिप, अबदेखि यस्तो नगर्ने ओसिनको बाचा

काठमाडौं : प्रेस काउन्सिल नेपालको निर्देशनपछि कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको 'इट्स माई सो'को विवादित क्लिप हटाइएको छ। 

दुई साताअघि प्रसारित उक्त कार्यक्रमको बजर राउन्डमा कार्यक्रम सञ्चालिका ओसिनले सोधेको प्रश्नबारे अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको जवाफले आफ्नो चरित्रहत्याको प्रयास भएको भन्दै अभिनेत्री जसिता गुरुङले सामाजिक सञ्जालमा लेखिन्। त्यसपछि काउन्सिलमा उजुरी नै पर्यो। 

उजुरीपछि काउन्सिलले अनुगमन गरेर विवादित क्लिपबारे प्रस्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो। टेलिभिजनले दिएको लिखित जवाफ चित्त नबुझेपछि काउन्सिलले ओसिनसँगै कान्तिपुर टेलिभिजनको व्यवस्थापनका अधिकारीलाई बोलाएर ओसिनको बयान लिएर ‘इट्स माइ शो’को एपिसोडमा रहेको विवादित अंश हटाउन निर्देशन दियो।

काउन्सिलसमक्ष प्रस्तोता ओसिनले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिताविपरीत हुने गरी आफूले कुनै काम नगर्ने प्रतिबद्धता जनाएकी थिइन्।

त्यसअघि जसिताको प्रतिक्रियापछि स्वस्तिमा र साम्राज्ञीले गल्ती महसुस गर्दै सार्वजनिक रूपमा माफी मागेका थिए। तर, ओसिन र कान्तिपुरले भने गल्तीको महसुससम्म गरेका थिएनन्।  

सम्बन्धित समाचार :

असार २४, २०८१ मंगलबार ०८:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।