फिल्म मोदिबेनीको प्रमोसनमा आएकी अभिनेत्री वर्षाले भनिन् ‘म फिल्मको जिम्मेवारी लिन सक्दिनँ’

काठमाडौँ : वर्षा सिवाकोटीका अधिकांश फिल्म रिलिज भयो कि भएन दर्शकले चालै पाउँदैनन्। फिल्म ‘परदेशी २’ र केही फिल्म बाहेकले बक्स अफिस रेकर्ड पनि गतिलो भएन। सोमबार उनले पनि यो स्विकारिन्।
काठमाडौँको सिभिल मलस्थित क्युएफएक्स फिल्म हलमा उनी अभिनीत फिल्म ‘मोदिबेनी’मा समावेश गीत ‘मन्जुरी’ को रिलिज कार्यक्रममा आएकी उनले आफूले अभिनय गरेका एक दुई वटा बाहेक कति फिल्म प्रदर्शनमा आए, गए आफूलाई समेत थाहा नभएको बताइन्।
उनले भनिन्,‘मलाई पनि थाहा छैन एक दुई वटा फिल्म बाहेक।’
उनले फिल्म ‘मोदिबेनी’ चल्छ कि चल्दैन भनेर दाबी समेत गर्न सकिनन्।
‘भोलिको दिनमा के हुन्छ,मलाई केही पनि थाहा छैन। अहिलेसम्म जस्तो कामहरू भइरहेको छ। धेरै राम्रो गरिरहनुभएको छ। यो देख्दा फिल्म चल्दैन भन्न सकिन्नँ,’उनले थपिन,‘फिल्म चल्नु नचल्नु अडियसनको कुरा हो। फिल्म हलमा नचलुन्जेलको हाम्रो हातमा हुन्छ। रिलिजपछि केही पनि हाम्रो हातमा हुँदैन। यसको म जिम्मेवारी लिन सक्दिनँ।’
वर्षा मोदिबेनीमा नव अभिनेता अमर प्रताब श्रेष्ठसँग जोडी बाँधिएकी छन्। नयाँ टिमसँग काम गर्न कतिको गाह्रो हुने रहेछ भन्ने पत्रकारको प्रश्नमा उनले गाह्रो हुने बताइन्।
‘गाह्रो त हुन्छ। हरेक कुराहरूले गाह्रो हुन्छ। कतिपय कुराहरू सिकाउनुपर्ने हुन्छ,’उनले भनिन्‘यो नयाँ टिममा उहाँहरूको कन्फिडेन्स देखेर काम गरेको हो। फिल्ममा काम गर्दै जाँदा नै थाहा हुन्छ यो फिल्म कस्तो बन्दैछ भनेर।’
उनले एक समय नयाँ टिमसँग काम गर्दिन भन्नेमा पुगेको बताउँदै उनले यो टिमसँग जोडिदा जति काम गर्दै गयो त्यति नै रमाइलो भएको दाबी गरिन्।
‘दाइ यसो गर्दा बेटर हुन्छ कि भन्दा उहाँहरुले कसो गर्दा राम्रो हुन्छ, त्यो गरौँ भन्नुभयो,’उनले भनिन्,‘आफ्नो कुरा सुनिदिँदा छुट्टै इनर्जी आएको उनले बताइन्।
असार २४, २०८१ सोमबार २३:३६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।