अञ्जन अध्यक्ष भएपछि वाणिज्य महासङ्घको अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने, कार्यसमितिले तयार पार्यो विधान संशोधन प्रस्ताव
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष निर्वाचन नगरी स्वतः चयन हुने विधानको व्यवस्था परिवर्तन गर्न कार्यसमितिले विधान संशोधन गरेको छ।
महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो। सो प्रावधान अलोकतान्त्रिक रहेको भन्दै अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने प्रबन्ध गर्न माग हुँदै आएको थियो।
सोमबार बसेको महासङ्घको कार्य समितिले सर्वसम्म रूपमा विधान संशोधन प्रस्ताव पारित गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाएर प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने प्रावधान राखेको हो। तर यो प्रावधान एक कार्यकालको अध्यक्ष चयनपछि मात्रै कार्यान्वयनमा आउने छ।
यसका लागि कार्यसमितिले संशोधन गरेको विधान आगामी मंसिरमा हुने साधारण सभाबाट पारित हुनु भने जरुरी छ। साधारण सभाले विधान संशोधन प्रस्तावमा थपघट वा अस्वीकार समेत गर्न सक्छ।
अहिले अञ्जन श्रेष्ठ महासङ्घको वरिष्ठ उपाध्यक्ष छन्। साधारण सभाले विधान संशोधन प्रस्ताव पारित गरेमा उनी स्वतः अध्यक्ष भएपछि अर्को कार्यकालबाट भने अध्यक्षको निर्वाचन हुनेछ।
भवानी राणा अध्यक्ष हुनुभन्दा अगाडिसम्म महासङ्घमा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै चयन हुने गरेको थियो। उनी वरिष्ठ उपाध्यक्ष भएको बेलामा उनलाई प्रतिस्पर्धीबिना नै अध्यक्ष बनाउन विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था राखियो। त्यसयता अध्यक्षको साटो महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि चर्को प्रतिस्पर्धा हुन थाल्यो।
विधानले अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने प्रावधानसँगै वरिष्ठ उपाध्यक्षको सङ्ख्या भने एकबाट बढाएर दुई बनाएको छ।
असार २३, २०८१ सोमबार २३:००:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।