अफलाइन राईडिङमा दुर्घटना गरेर भाग्दा हत्या आरोपमा पक्राउ

अफलाइन राईडिङमा दुर्घटना गरेर भाग्दा हत्या आरोपमा पक्राउ

काठमाडौँ : अफलाइन राइडिङमा यात्रु मोटरसाइकलबाट खसे पनि भाग्दा तीन व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन्। मोटरसाइकलको यात्रु खसे पनि उपचारका लागि अस्पताल लानुको साटो भाग्ने, सडकमा खसेको यात्रुलाई ठक्कर दिने मोटरसाइकल चालकसहित तीन जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार असार १५ गते साढे नौ बजेको समयमा अनु गुरुङ र उनको साथीहरू समेत ३ जनाले गोङ्गबुबाट हात्तिवनसम्मको लागि अफलाइन राईडरहरुको ३ वटा छुटा-छुटै मोटर साइकल भाडामा लिएका थिए।

उनीहरू जानेक्रममा जमल कान्तिपथको होटेल यल्लो पागोडा अगाडिको सडकमा तेज रावलले चलाएको मोटरसाइकलबाट मोटरसाइकल पछाडि रहेकी अनु गुरुङ खसेकी थिइन्।

उनी खसेपछि पदम धितालले चलाएको मोटरसाइकलले उनलाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी थिइन्। प्रहरीले उनको उद्धार गरेर उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा असार १८ गते उनको मृत्यु भयो।

मोटरसाइकल चालकहरू भने फरार भए। प्रहरी वृत्त दरबारमार्गले फरार रहेका उनीहरूलाई असार २१ गते पक्राउ गरेर सवारी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेको छ। प्रहरीले रावल, धितालसँगै सुरेश अधिकारीलाई पक्राउ गरेको हो।

असार २३, २०८१ सोमबार १७:१४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।