नयाँ गठबन्धनले उकालिएको सेयर बजार करेक्सन लाइनमा, ४.६२ अङ्कले घट्यो

नयाँ गठबन्धनले उकालिएको सेयर बजार करेक्सन लाइनमा, ४.६२ अङ्कले घट्यो

काठमाडौँ : साप्ताहिक कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४.६२ अङ्कले घटेको छ। पहिलो दिन आइतबार बढेर बन्द भएको परिसूचक सोमबार घटेर २ हजार १ सय ३६.३५ विन्दुमा बन्द भयो। यसलाई सेयर बजार सम्बन्धी जानकारहरू सामान्य करेक्सनको बाटोमा गएको तर्क गर्छन्।

आइतबार  नेप्से २१.२७ अङ्कले बढेर दुई हजार एक सय दशमलव ४० दशमलव ९७ विन्दुमा  पुगेर बजार बन्द भएको थियो। गठबन्धन बदलिएर नेपाली कांग्रेस र एमाले नेतृत्वमा सरकार बन्ने सहमति सार्वजनिक भएसँगै उकालिन थालेको सेयर बजार गत सोमबारदेखि झन्डै एक सय चार अङ्कले बढेको थियो।

बढ्नेक्रम आइतबारसम्म पनि जारी नै रह्यो। तर सोमबार कारोबारमा ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४१ वटा कम्पनीको सेयर मूल्य घट्यो। १० वटा कम्पनीको मूल्य स्थिर भयो।

सोमबार ५९ हजार ९ सय ७४ वटा कारोबारबाट १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर किनबेच भएको थियो। कारोबार रकम पनि आइतबारको तुलनामा घटेर ४ अर्ब ५६ करोड रुपैयाँ  मात्र भयो। आइतबार ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

असार २३, २०८१ सोमबार १५:४२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।