विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेस सक्रिय

विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेस सक्रिय

जनकपुर : मधेस प्रदेशमा रहेको जनमत पार्टीको मुख्यमन्त्रीलाई विश्वासको मत दिएको दुई दिनमै नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्यमा जुटेको छ। जनमतले कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई दिने वचन दिएको मन्त्रालय नदिने तयारी गरेसँगै कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन कस्सिएको हो।

विश्वासको मत लिनु अगाडि जनमतले कांग्रेसलाई अर्थसहित चार र लोसपालाई गृह र सञ्चार मन्त्रालय दिने वचन दिएको नेताहरूले दाबी गरेका छन्। तर जनमतका मुख्यमन्त्री शतिसकुमार सिंहले विश्वासघात गरेको भन्दै मधेस प्रदेशका कांग्रेस नेताहरूले आफ्नै नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसँग छलफल सुरु गर्यो।

सोमबार कांग्रेसका नेताहरूले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन एमाले, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग छलफल गर्यो। छलफलमा सबै दलले कांग्रेसलाई आफ्नै नेतृत्वमा सरकार बनाउन सुझाव दिएको छलफलमा सहभागी कांग्रेसका एक नेताले बताए।

मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्ण यादवले दलहरूबिचको छलफलमा कांग्रेसलाई सरकारको नेतृत्व गर्नेगरि अगाडि बढ्न सुझाव आएको बताए।

यस्तो छ अङ्क गणित

मधेस प्रदेशमा एमाले २३ सांसदसहित सबैभन्दा ठुलो दलको हैसियतमा छ। कांग्रेस २२ र जसपा नेपालसँग १६ सांसद थियो। जसपा विभाजनपछि उसको अवस्था खुलेको छैन।

जनमत पार्टी १३,  लोकतान्त्रिक समाजवादीसँग ९, माओवादी ८, एकीकृत समाजवादी ७, ६ स्वतन्त्र सांसद राप्रपाको २, सङ्घीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीको एक–एक सांसद छन्।

मधेसमा सरकार गठनका लागि ५४ सांसदको समर्थन चाहिन्छ। एमाले, कांग्रेस, जसपा नेपाल र लोसपा एकै ठाउँ उभिए सरकार बनाउन आवश्यक सङ्ख्या पुग्छ नै।

असार २३, २०८१ सोमबार १५:३०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।