'नक्कली भुटानी शरणार्थी केसमा बेचन झालाई समातेपछि राजनीतिक चलखेल सुरू भयो'

'नक्कली भुटानी शरणार्थी केसमा बेचन झालाई समातेपछि राजनीतिक चलखेल सुरू भयो'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी नबनाइएका बेचन झालाई वर्तमान सरकारले नियन्त्रणमा लिएपछि राजनीतिक चलखेल सुरू भएको बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुशासन भ्रष्टाचारको विरुद्मा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर चलखेल सुरू भएको भन्दै आगामी सरकारलाई पनि बेचन झाहरूले चैन नदिने टिप्पणी गरे। 

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपनि एक वर्ष अगाडि पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब वर्तमान सरकारले नियन्त्रण लियो त्यसपछि राजनीति बेचैनीहरू सुरू भयो। जब सरकारले अभियोग पत्रमा प्रतिवादी नबनाइएका झालाई समात्यो तब राजनीतिक चलखेल सुरु हुन थाल्यो।’

उनले बेचन झाहरूको केस अगाडि बढाउन सरकारलाई आग्रह समेत गरे। 

उनले भने, ‘सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर आज जुन खालको चलखेल सुरु भएको छ। म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु। बेचन झाहरुको केसलाई अगाडि बढाइयोस् र आगामी सरकारलाई पनि बेचन झाहरुजस्ताले चैन दिने छैनन्।’

असार २३, २०८१ सोमबार १४:१२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।