अभावै अभावमा हुर्किएकी सुस्मिताको जब सुख देख्ने बेला आयो अनि एउटा आँखा गुम्यो

अभावै अभावमा हुर्किएकी सुस्मिताको जब सुख देख्ने बेला आयो अनि एउटा आँखा गुम्यो

सुस्मिता लामाको काठमाडौंस्थित कपनको डेरा बसाईं राम्रै थियो। बच्चाहरू हुर्किसकेर आफ्नो सुर गरिसकेका थिए। त्यसअघि जीवनमा धेरै दुख भोगेकी सुस्मितालाई अब भने डेरामा बस्न मन मानेन। अनि सानैदेखि आफू खेले-बढेको ठाउँ जहरसिंह पौवाको चौकी भञ्ज्याङ्मा फर्किने निर्णय गरिन्। श्रीमानले पनि सहजै स्वीकारे। 

जहरसिंहपौवा चौकी भञ्ज्याङ काठमाडौँकै एक गाउँ भएपनि विकट थियो। त्यसैले पनि सुस्मिता छोराछोरी पढाउन कपन झरेकी थिइन्। जसै केटाकेटी हुर्किए त्यसपछि फर्किइन आफ्नै थाँतथलो। लामा परिवारले भञ्ज्याङमा रहेको पुर्ख्यौली जग्गा बेचेको थिएन। त्यसैलाई उपयोग गर्ने सोचसहित उनले होमस्टे सञ्चालन गर्ने निर्णय गरिन्। अलि पक्की घर बन्दै थियो। ढलानको काम भइरहेको बेला घर भत्कियो। त्यहीबेला उनको आँखा घोच्यो। अस्पताल पुगेपछि पो थाहा पाइन् उनको आँखा त कहिल्यै निको नहुने गरी फुटेछ।

'जिन्दगीमा मैले धेरै दुख गरें, सुख देख्ने बेला आँखा फुट्यो भनेर यति त रोइन म। तर डाक्टरले निको हुँदैन भनेर सम्झाएँ। अहिले एउटै आँखाले भएनि संसार हेरिरहेको छु’ उनले भनिन्। 

‘पाँच रूपैँया नदिँदा दिनभरी रोएँ’
उमेरले ५० पुगिन् सुस्मिता। सानैदेखि चौकी भञ्ज्याङमै हुर्केकी। अभावमै अभावमा हुर्केकी उनले विद्यालयको मुख देख्न पाइनन्। बिहानै उठ घाँस काट। दिउँसो मेला जाउ। त्यतिमात्र कहाँ हो र, आफ्नो काम नभएको बेला अरूको काममा जानुपर्ने। त्यो पनि २५ रूपैँया ज्यालामा।  त्यही पैसाको लागि पनि उनी आफ्नो घरको काम छिटो सकाएर मेलापात गर्न जान्थिन्। किनभने उनका लागि खान लाउनै दुख थियो। 

तीन घण्टा हिँडेर साँखुमा लाग्ने मेला हेर्न ५ रूपैँया नपाएर मन बुझाएर बसेकी छिन् सुस्मिताले। 

त्यसबेला सुस्मिता त्यही १५/१६ वर्षकी हुँदी हुन्। साथीहरू सबै साँखु मेला हेर्न जाने भए। तीन वर्ष हुँदा आमा गुमाएकी सुस्मिताले बुबासँग ५ रूपैँया मागिन्। बुबाले अभावको पोया फुकाए। ५ रूपैँया छैन भन्दा उनी दिनभरी मात्रै हैन रातैभरि रोइन्। 

ती दिनलाई सम्झिएर गहभरी आँसु पार्दै सुस्मिताले भनिन् ‘हाम्रो पालामा ५ रूपैँयाको कति महत्व थियो। अहिले त त्यो पैसा केही हैन। त्यही पैसा नभएर मन बाँधेर बस्नु पर्यो मैले। पैला दशैँमा एक जोर लुगा किन्यो भने, बर्षभरी पुर्याउनुपर्थ्यो। गरिबीले गरेर राम्रो लुगा नभएर बजार जान पाइँदैन थियो। अनि हुनेहरूले देखाउँथ्यो। म कति रोए। मेरो सानुमै आमा बितेको, अनि बाउले त्यति लुगा नकिनिदिने म कति रुन्थ्यो।’

बुवाले जुन दिन साखुबाट चप्पल लिएर आउँछु भन्थे, त्यो दिन सुस्मिता बिहान जुरुक्क उठेर घाँस, सोत्तर ल्याउँथिन्। 

‘बाउको गोठमा धेरै गाई-भैँसी थिए, म घरको कान्छी छोरी भनेर पनि माया पाए पो! काँ त्यतिबेला अहिलेको जस्तो छोरीलाई पठाउने चलन हुनु नी, बिहान बेलुका घाँस काट्यो, बस्यो। नत चप्पल लगाउन पाउनु, कसैले चप्पल लगायो भने पनि रहर लाग्ने। त्यो बेला कसैको मेला पर्म जाँदा २५/३० रूपैँया दिन्थ्यो। त्यो मेला जान पाउँदा कति खुसी हुन्थ्यो।’

कुबेतदेखि होमस्टेसम्म 
सुस्मिताका श्रीमान् पनि साह्रै मिहिनेती। उनी होटलहरूमा नान रोटीका लागि चाहिने कोइलाको ठेक्का लिने काम गर्थे। उनको काम राम्रै थियो तर डेराको बसाई न हो, सागदेखि नुनसम्म किन्नै पर्ने। श्रीमान्को कमाइले मात्र नपुगेपछि सुस्मिताले ज्यामी काम पनि गरिन्। त्यति मात्रै हैन, नाम मात्रै लेख्न सक्ने उनी कुबेत पनि गइन्। कुबेतमा दुई वर्ष बसिन्। 

‘दुई महिना त म काम गर्नै सकिन। छोराछोरी सम्झेर यति त रोइन पछि बानी पर्दै गयो,' उनले भनिन्, ‘३० बर्षको उमेरमा कुबेतमा घरको कामदारमा गएँ। फ्री भिसा फ्री टिकट। त्यो बेला अहिलेको जस्तो मेनपावर थिएन। मान्छेले भनेकै भरमा गकोे।' 

विगत सम्झिँदै उनी भन्छिन्, ‘त्याँ पनि कति दुख गर्यौ मैले। छोराछोरीको याद आउने। तर, पनि बस्नै पर्यौ। ३ बर्ष त बस्यो, पछि छोरा पनि कमाउन गयो अनि आएको। मेरो छोराले पनि सानै उमेरदेखि दुख गर्यौ। १५/१६ बर्षको हुँदा पासपोर्ट बनाएको, उमेर बढाएर अहिले साउदीमा छ। छोराले तपाई कमाउन जानुपर्दैन भनेपछि म यतै बसेको।’

छोराछोरी पनि विदेश गएपछि सुस्मिताको परिवार कपनबाट गाउँ उक्ले। १३ वर्षपछि फर्किँदा गाउँमा होमस्टेका लागि घर बनिरहेकै थिए। त्यही मेसोमा उनले आफ्नो घर पनि बनाइरहेकी थिइन्। उनी आँगनमै थिइन्। त्यतिनैबेला माथिको ढलान खस्यो। अनि त्यसैमा भएको रडले उनको आँखामा लाग्यो। त्यही नै बेला त हो उनको आँखा फुटेको। 

‘घर बन्दैगर्दाको समयमा रड आँखामा पसेर प्याट्टै आँखा खायो। महिनौँ अस्पतालमा बस्यो। तर ठिक भएन’ उनले आफ्नो दुखको क्षण सुनाइन्, ‘म कति दिन रोयो। डाक्टरलाई कति भन्यो, तर आखा नफर्किने भनेपछि, आत्महत्या गर्न मन नलागेको होइन। कति पटक प्रयास पनि गरेको तर मर्न सकिन। त्यो बेला हरेस खाएको भए, म त त्यहीबेला पोली सक्थ्यो। खुशी भएर बस्न पर्छ भनेर अहिलेसम्म बसेको।’ 

‘जब सुखको दिन आयो, तब एउटा आँखा गुमाएँ’
महिनौँ उपचार गर्दासमेत उनको आखाको ज्योति नफर्किएपछि सुस्मिताले नक्कली आँखाको सहारा लिनुपर्यो।

‘मलाई अहिले पैसाको कुनै पिर छैन। होमस्टे छ, आफूलाई चाहिने खर्च यसैबाट उठ्छ। तर यिनै नाति नातिनाको पिर छ। गाउँको राम्रो वातावरण छैन। यिनीहरुलाई सहि बाटोमा हिँडाउन पाए भयो मलाई। पैसा त ३ जना छोरा छोरीले १०/१० हजार हालिदिए पनि हामी बुढा बुढीलाई मज्जाले पुग्छ। बाँकी पैसा यिनी नातिनातिनाको लागि जोगाउन पाए भयो।’

सुस्मिता अहिले भने गम्भिरमान थिङ्गसँगै बसेर होमस्टे सञ्चालन गरिरहेकी छिन। यस काममा उनलाई करिब ४ महिनाजति बुहारी डोमाले समेत सघाएकी छिन्। डोमा ४ महिनाअघि मात्रै छोरा बिरामी भएर घर आएकी हुन्। होइन भने होमस्टेको सम्पूर्ण जिम्मेवारी सुम्मिताले नै हेर्छिन्। 

 नजिकैको चिनियाँ कम्पनीले बनाइदिएको चिया बगान हेर्ने आउनेको भिड कोभिडपछि भने पातलिएकोले व्यापार कमी आएको बताउँछिन्।  समाजमा अरु घर परिवारमा रक्सी खाने, जथाभावी बोल्ने बच्चाहरू भएकोले आफ्नो नाति नातिनालाई कसरी जोखाउने पिसले उनलाई सताउँछ। 

असार २४, २०८१ सोमबार १५:००:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।