पशुपालनको अनुदानमा अनियमितता गरेको आरोपमा तत्कालीन पालिका अध्यक्षसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपालनको अनुदानमा अनियमितता गरेको आरोपमा तत्कालीन पालिका अध्यक्षसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो। 

आयोगका अनुसार मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही रहेका छन्।

अध्यक्ष रोकाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष धामी एमालेबाट निर्वाचित भएका थिए तर हाल उनी एकीकृत समाजवादीबाट हुम्ला पार्टी अध्यक्ष रहेका छन्।

त्यस्तै, मुद्दा दर्ता गरिएका कर्मचारीहरूमा गाउँपालिकाका इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया रहेका छन्।

गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको आयोगको दाबी छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले मुद्दा दायर गरिएका नौ जनालाई जनही १९ लाख ५० हजार रुपैयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको जानकारी दिए।

असार २३, २०८१ सोमबार १२:३८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।