प्रचण्डले राजीनामा नदिनुको रहस्यभित्र लुकेको छ कांग्रेस-एमाले गठबन्धनको भविष्य

प्रचण्डले राजीनामा नदिनुको रहस्यभित्र लुकेको छ कांग्रेस-एमाले गठबन्धनको भविष्य

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले प्रधानमन्त्रीको पगरीबाहेक केही छैन। संसदमा उनीसँग रहेको झन्डै ९८ प्रतिशत सांसदको संख्या घटेर ५३ पुगेको छ। पटकपटकका सत्ता सहयात्री दलहरूले साथ छोडिसकेका छन्। त्यसमा पनि 'स्वर्ग गए पनि, नर्क गए पनि सँगै जाने' भनिएका एमाले अध्यक्ष केपी ओली नै प्रमुख राजनीतिक शत्रु बनेका छन्। अनि प्रधानमन्त्री प्रचण्ड भने अल्पमतको सरकारको नेतृत्व गरेर बसिरहेका छन्। 

तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका छैनन्। नैतिकताकै आधारमा सहि, अल्पमतमा पर्ने देखेपछि प्रचण्डले राजीनामा दिन सक्थे। त्यसैपनि यसअघि दुईपटक प्रधानमन्त्री बन्दा नैतिकताकै आधारमा राजीनामा दिने प्रधानमन्त्री हुन् उनी। तर, उनले त्यसो गरेनन्।

उनले यही २८ गते विश्वासको मतसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको कार्यसूचीमा राख्न अनुरोध गर्दै संसद् सचिवालयलाई पत्र पठाएका छन्। यसको जानकारी सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधिसभा बैठकमा गराए।

बीचमा कुनै उथलपुथल नभए प्रचण्डले विश्वासको मत पाउने देखिंदैन नै। उनीसँग अहिले माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरी ५३ सांसदको साथ छ। त्यसपछि संविधानको धारा ७६ (२) अनुसार बनेको आफू नेतृत्वको सरकारले विश्वास मत नपाए उपधारा ३ अनुसार ठुलो दलको नेतृत्वमा नयाँ सरकार गठन गराउन खोजिरहेका छन् प्रचण्ड।

उनीनिकट स्रोतका अनुसार ओलीलाई सत्तामा जानबाट रोक्न उनले संसद फेस गर्न लागिरहेको बुझिएको छ। 

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन्। सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको जिकिर छ। राष्ट्रपतिले ७६ (३) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरे ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। यहीकारण अत्तालिएको एमालेले पटकपटक ७६ (२) अनुसार नै नयाँ सरकार बन्ने बताइरहेको छ। एमाले सचेतक बर्तौलाले संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने बताए।

‘अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्छ कि भनेर अनेक भ्रम छर्न खोजिएको छ, ती सबै चलखेल असफल हुन्छन्। सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुनेछ’, उनले भने।

गएको सोमबार कांग्रेस-एमालेबीचमा संविधान शंसोधन गर्नेगरी नयाँ सरकार बनाउने सहमति भएको भनिएको छ। तर, एक हप्ता पुग्दैगर्दा सम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको भनिएको त्यो पत्र सार्वजनिक भइसकेको छैन। यसैमा माओवादीको शंका छ।

माओवादीलाई समानुपातिक समावेशीता, संघीयता लगायतका उपलब्धिहरू गुम्ने खतरा महसुस भएको छ। जुन आइतबारको संसदमा माओवादी सांसद माधव सापकोटाले व्यक्त गरे। उक्त सहमति पत्र सार्वजनिक गर्न माग गर्दै उनले गिरीबन्धु टी-स्टेट र भुटानी शरणार्थीको फाइल खोल्न थालेपछि अत्तालिएर कांग्रेस-एमाले गठबन्धन बनेको आरोप लगाए। 

बैठकमा एमाले सांसद रघुजी पन्त, लीलानाथ श्रेष्ठ लगायतले प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका थिए। त्यसको प्रतिवादमा माओवादी सांसद लेखनाथ दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायतले प्रधानमन्त्रीले संसद फेस गर्ने तर, राजीनामा नदिने जिकिर गरे। 

अझ सांसद सापकोटाले त उनले अब संसदको ठूलो दलको नेता प्रधानमन्त्री हुनुपर्ने बताएका छन्। 'ठूलो दलका नेता प्रधानमन्त्री हुनुपर्ने हो, आधा-आधा चलाउने भनिएको छ, यही हो स्थिरता?,' उनले प्रश्न गरे। 

उनले थपे, ‘उहाँ विश्वास मत पाए सरकारमै रहनु हुन्छ। विश्वास गुमाउनु भयो भने संविधानको धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार बन्छ।'

आइतबारको संसदमा प्रधानमन्त्रीले राजीनामा दिनसक्ने आँकलन गरेको एमालेले त्यसो नभएपछि फेरि मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ। प्रचण्डले राजीनामा गरेपछि  संविधानको धारा १०० (२) मा बमोजिम प्रधानमन्त्री बन्ने सकिने योजना बुनिरहेका एमाले अध्यक्ष ओलीको योजनामा तुषारापात हुने उनी स्वयंलाई त्रास छ। त्यसैले प्रधानमन्त्रीको निरन्तर राजीनामा मागिरहेको छ एमाले। 

आइतबारबाट प्रतिपक्षीको बेन्चमा बसेको एमालेलाई कांग्रेससँगको गठबन्धनको आयु कति होला भन्ने पीर छ। त्यसै पनि प्रचण्ड सरकार ढलेपछि यदि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको आह्वान गर्नासाथ देउवा प्रधानमन्त्री बन्ने छन्। र, एमाले यता न उताको हुनसक्छ। प्रचण्ड पनि त्यसैको लागि निरन्तर कसरत गरिरहेका छन्।

त्यसका लागि उनले ७६(३) अनुसार देउवा प्रधानमन्त्री बन्नसक्ने शंका गरेका कांग्रेस नेता शेखर कोइरालासँग परामर्श गरिसके। शेखरसँगको भेटमा पनि दाहालले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवसर आउन लागेकाले त्यसका लागि प्रयत्न गर्न आग्रह गरे। अहिले पनि कांग्रेस-माओवादी दोस्रो तहका नेताहरू बीच यसबारे छलफल चलिरहेकै छ। अन्य मधेशवादी दलसँग पनि साथ मागेकै हुन् तर, मधेशवादी सबै दलहरू अहिले कांग्रेस-एमाले गठबन्धनको पक्षमा उभिसकेका छन्। 

प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार ओलीले प्रचण्डलाई झुक्याएको भान परेको छ। माओवादी सचिव देवेन्द्र पौडेलले ओलीले प्रचण्डसँग 'स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने' भनेर त्यही रात देउवासँग गैर सहमति गर्दै आफूहरूलाई झुक्याएको भनेका छन्। त्यसकारण पनि प्रचण्ड ओलीलाई यस्सै सत्ता सुम्पिन चाहँदैनन्। 

कांग्रेस-एमालेबीचमा सहमति भएको भनिएको दिनबाटै यी दुवै दलले प्रधानमन्त्रीलाई नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरिदिन आग्रह गर्दै आइरहेकै छन्। तर, प्रधानमन्त्री प्रचण्डले भने टेरेका छैनन्।   

असार २३, २०८१ सोमबार ११:१२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।