मुगुमा हतियार देखाएर लुट्दै हिँड्ने ३ जना पक्राउ

मुगुमा हतियार देखाएर लुट्दै हिँड्ने ३ जना पक्राउ

काठमाडौं : मुगु प्रहरीले लुटेरा समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिकाका वडा ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पुर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापा रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय मुगुले हतियार देखाएर लुट्दै हिँड्ने समूहमा संलग्न ६ जना पक्राउ गरेकोमा ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको जनाएको छ। अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। 

लुटेरा समूहले गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव  ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मुर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानीयहरूले जाहेरी दिएका छन्।

प्रहरीले उनीहरुको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल पनि बरामद गरेको छ।

यसबारे थप अनुसन्धान भइरहेको मुगु प्रहरीले जनाएको छ। 

असार २३, २०८१ सोमबार ०८:१६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।